बाणगंगा नगरपालिकामा १५ करोडको लगानीमा होटल मझेरी सञ्चालनमा


पालिका पत्र

३० मंसिर २०८१, आईतवार १९:४८ मा प्रकाशित

कपिलवस्तु, बाणगंगा: करिब १५ करोडको लगानीमा कपिलवस्तुको बाणगंगा नगरपालिका–१, जितपुरमा अत्याधुनिक सुविधा सम्पन्न होटल मझेरी सञ्चालनमा आएको छ। होटलका सञ्चालक छविलाल रेश्मी मगर र पर्शुराम थारुले लुम्बिनी र तिलौराकोट क्षेत्रका आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी यो होटल स्थापना गरेका हुन्।

साततले यो होटलमा १०० जना पाहुनालाई स्वागत गर्न सकिने क्षमता छ भने सुविधासम्पन्न २८ वटा कोठाहरू रहेका छन्। यी कोठाहरूमा एक रातको मूल्य १,००० देखि १०,००० रुपैयाँसम्म पर्ने र स्टार लेभलका अनुभव दिने गरी डिजाइन गरिएको छ। होटलमा वीआईपी र भिभिआईपी कक्ष, बैठक हल, रुफटप रेस्टुरेन्ट, र प्रशस्त पार्किङको व्यवस्था गरिएको छ।

होटलका एक सञ्चालक पर्शुराम थारुले थारु परिकारहरूलाई विशेष प्राथमिकता दिइने र स्थानीय स्वादलाई प्रवर्द्धन गरिने बताए। राजापानीस्थित थारु भिलेज सञ्चालन गर्दै आएका थारुले होटल मझेरीमा पनि थारु परिकारसहित पारिवारिक जमघट र खाना पकाउन आफैँ सुविधा उपलब्ध गराइएको जानकारी दिए।

सञ्चालकहरूले होटलले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। होटलको उद्घाटन आइतबार गरिनेछ र उद्घाटनका अवसरमा १५५% छुटको व्यवस्था गरिएको छ। साथै, होटलले ३२ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ र विद्युतीय सवारी चार्ज गर्ने सुविधा समेत उपलब्ध छ।

कोरोना महामारीपछि स्वदेशमै केही नयाँ गर्ने उद्देश्यले होटल सञ्चालन गरिएको र यहाँका सेवाहरूलाई टुर प्याकेजमार्फत प्रचार गर्ने योजना रहेको सञ्चालकहरूको भनाइ छ। होटलले बाणगंगा नगरपालिकाको गरिमा बढाउने र पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्