बाणगंगा, मंसिर ३० ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–४ स्थित श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारीहरूले आइतबार पिस हिमालयन रिसोर्टमा सपथ ग्रहण गर्दै पदभार ग्रहण गरेका छन् । निर्वाचन मण्डलका संयोजक रामजी सेनले सपथ गराएका पदाधिकारीहरूमा अध्यक्षमा गणेश बहादुर सिंह ठकुरी (सुशील), उपाध्यक्षमा बुद्ध बहादुर शाही, सचिवमा कमला सेन सुष्मा, सह–सचिवमा हरि प्रसाद पौडेल, र कोषाध्यक्षमा विना राना बुढाथोकी सर्वसम्मत चयन भएका छन् ।
बाणगंगाका नगरप्रमुख चक्रपाणी अर्यालले वनको संरक्षण, समृद्धि, र सुशासनमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । वन कार्यालयका प्रमुखहरूले वन व्यवस्थापन र संरक्षणमा थप चासो राख्न सुझाव दिएका छन् । नवनिर्वाचित अध्यक्ष ठकुरीले वनलाई नमुना वनको रूपमा विकास गर्ने र सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूले सहकार्य र सहमतिको आवश्यकता औंल्याएका थिए। निवर्तमान पदाधिकारीहरूलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।