पालिका पत्र, पौष ०२ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले आफ्नो पारिश्रमिक र सेवा सुविधाबाट नगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेका छन्। सोमबार आयोजित कार्यक्रममा प्रमुख खाँणले ४२ वटा सामुदायिक विद्यालयका १४६ विद्यार्थीलाई प्रति विद्यार्थी ५ हजारका दरले ७ लाख ३० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेका हुन्।
नगर प्रमुख खाँणले निर्वाचित भएको वर्षदेखि नै आफ्नो पारिश्रमिकको रकमबाट छात्रवृत्ति वितरण गर्दै आएको उल्लेख गर्दै कुनै पनि विद्यार्थी पढ्नबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्य निरन्तर गरिरहेको बताए। “म धनी भएकाले पैसा बाँडेको होइन, सबै बालबालिकालाई शिक्षाको अवसर मिलोस् भन्ने मेरो मान्यता हो,” उनले भने।
कार्यक्रममा नगर उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले विद्यार्थीहरूलाई छात्रवृत्तिको रकम शिक्षा सामग्री तथा पोसाकमै खर्च गर्न सुझाव दिए।
त्यसैगरी, तिलोत्तमा नगरपालिकाले कक्षा ८, एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएका १२ विद्यालयका १९ जना विद्यार्थीलाई प्रति विद्यार्थी ६ हजारका दरले एक लाख १४ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरेर सम्मान गरेको थियो।
पूर्व मेयर बासुदेव घिमिरेले पनि आफ्नो मासिक पारिश्रमिकबाट सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरणको अभियान थालनी गरेको स्मरण गरिएको छ।