पुष ४ गते । कपिलवस्तुका शैक्षिक धरोहर स्वर्गीय तेज कुमार बौद्धाचार्यको ९४औं जन्मजयन्ती मनाइएको छ । जिल्ला सदरमुकाम तौलिहवामा रहेर सात दशक भन्दा बढि शिक्षण पेशामा रहेका कबि एवम् शिक्षाविद् बौद्धाचार्यको ९४औं जन्मजयन्ती एक बिशेष कार्यक्रमको आयोजना गर्दै मनाइएको हो ।
राणाकालिन समयदेखि निरन्तर शिक्षा क्षेत्रमा सक्रिय रहेका मास्टर साहेब बौद्धाचार्यको जन्म बिक्रम सम्वत् १९८८ मा तौलिहवा बजारमा भएको थियो । तेज कुमार बौद्धाचार्य मेमोरियल ट्रस्ट कपिलवस्तुको आयोजना र सिर्जनशील नारी साहित्य समाज कपिलवस्तुको सहकार्यमा नगरपालिकाको हलमा कवि एवम् शिक्षासेवी तेज कुमार बौद्धाचार्य पुरस्कार तथा सम्मान समारोह २०८१ का बीचमा उनको कार्यको खुलेर प्रसंशा समेत गरिएको छ ।
तेज कुमार बौद्धाचार्य मेमोरियल ट्रस्ट कपिलवस्तुको अध्यक्ष ससुमयी शाक्यको अध्यक्षता, धवलागिरि साहित्य प्रतिष्ठान, बागलुङका संस्थापक एवं अध्यक्ष काजी रोशनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिभिन्न बिधाहरुमा कार्य गरे वापत् बिभिन्न श्रष्टाहरुलाई सम्मान समेत गरिएको छ ।
सम्मानित हुनेहरुमा गोपाल बहादुर सिंह, शत्रुघनलाल श्रीवास्तव, प्रदीप सिंह, काजी रोशन रहेका छन् । यस्तै, ट्रस्टबाट साहित्यीक पुरस्कार प्राप्त गर्नेहरुमा कमला श्रेष्ठ, साधना अर्याल र आसिफ अली रहेका छन् ।
कार्यक्रममा, साहित्यकार हरिराज शर्मा, पशुपतिमणि त्रिपाठी, राघवेन्द्रलाल श्रीवास्तव, पार्वती शर्मा निशा, वलिउद्धिन मुसलमान, रमेश शर्मा, शिक्षकहरु बाबुराम भण्डारी, अमित कुमार श्रीवास्तव, लगायत श्रष्टाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण तथा संचालन शकुन्तला ज्ञवाली पौडेलले गरेकी थिइन् ।
को थिए बौद्धाचार्य ?
बिक्रम सम्वत् २००८ सालमा तौलिहवा स्थित बुद्धपद्म माबिमा शिक्षण पेशा शुरु गरेका तेज कुमारले सो बिद्यालयमा ४२ बर्ष सेवा गरेका थिए । २०३८ साल देखि २०६७ साल सम्म कपिलवस्तु क्याम्पसमा पार्ट टाईम शिक्षण समेत गरेका थिए । भारतको उत्तर प्रदेश बोर्डबाट हाई स्कूल र नेपालको त्रिभुवन बिश्व बिद्यालयबाट बि.एड गरेका उनको अंग्रेजी बिषयमा बिशेष दख्खल थियो ।
नेवार समुदायका तेजकुमारले आफनो मातृभाषा मात्र होइन, अबधी, नेपाली, हिन्दी, उर्दु फरर बोल्न र लेख्न जानेका थिए । अंग्रेजीमा ‘पर्ल्स अफवाह पोइजि’ नामक किताब लेखेका उनले बिभिन्न पत्रपत्रिकामा फुटकर कबिता, लेख, हास्यव्यंग्य कृतिहरु लेखेका थिए ।
जापान र भारत भ्रमण गरेका तेजकुमारले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गरे बापत तीन पटक राष्ट्रिय शिक्षा पुरस्कार र दीर्घ सेवाबाट सम्मानित भएका थिए । उनलाई जिल्लामा एउटा जिबित ईतिहासका रुपमा लिइने गरिएको थियो । बुद्धको उपदेश र शिक्षालाई आफनो मार्गदर्शक मानेका उनले जीवनलाई संघर्ष, कार्यशीलता, परोपकार, नैतिकता, सद्चरित्रताको रुपमा लिएका थिए ।
देशमा कुसंस्कार, प्रतिशोध, नैतिक शिक्षाको अभाव बढ्दै गएकोले नेपालको पाठ्यक्रममा शान्ति बिषय समावेश गर्नुपर्ने तेज कुमारले पटकपटक कुरा उठाएका थिए ।