कपिलवस्तुमा एकबर्षमा ५सय बढि मानव अधिकार उल्लंघनका घटना : ७ जना पुरुष घरेलु हिंसामा परे !


पालिका पत्र

६ पुष २०८१, शनिबार ०८:३६ मा प्रकाशित

कपिलवस्तु, पुष ६ गते । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि कपिलवस्तुमा अभिलेख गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तु प्रतिनिधी रुकैया खातुनको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले घटना विवरण प्रस्तुत गरिन् ।

इन्सेकले कपिलवस्तुमा २०२४ जनवरीदेखि डिसेम्वरसम्म ५ सय ८ ओटा मानव अधिकार सम्वन्धी घटना अभिलेखिकरण गरेको छ । जसअनुसार बालिका सम्बन्धी बलात्कारका घटना २५ ओटा, यौन र्दुब्यवहार १२ ओटा, महिला सम्बन्धी बलात्कार ५ वटा र बलात्कार प्रयास १३ वटा गरी जम्मा १८ वटा गरी जम्मा ५५ वटा रहेका छन् ।

मानव बेचविखन तथा ओसारपसारका ४ वटा, पारिबारिक हत्या १ वटा, बहुविवाह ३ जना, आत्महत्या दुरुत्साहन ३ जना, अपहरण २ जना र घरेलु हिंसाबाट ४ सय ३७ जना पीडित रहेको इन्सेक कपिलवस्तु प्रतिनिधी रीमा बिसीले जानकारी दिइन् । घरेलु हिंसा अन्र्तगत कपिलवस्तुमा ७ जना पुरुषहरु इन्सेकको सम्पर्कमा आएको उनले जनाइन् ।

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले वर्ष पुस्तकले जिल्लामा मानव अधिकारको अवस्था उजागर गरेको बताए । उनले कानुनको पालना नहुँदा मानव अधिकारको संरक्षण हुन नसकेको भन्दै कानुन कार्यान्वयनमा भूमिका खेल्ने प्रतिबद्धता जनाए । मानव अधिकारको सम्वद्र्धन र घटना न्यूनीकरणका लागि स्थानीय सरकारले सोही अनुसारको नीति कार्यक्रम तर्जुमा गर्दै कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्ने उनको धारणा छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक निरञ्जनदत्त भट्टले प्रहरी मानव अधिकारमैत्री व्यवहारमा प्रतिबद्ध रहेको भन्दै हिजो भन्दा आज सुधार गरिएको बताए । सशस्त्र प्रहरी उपरिक्षक रामजंग पाण्डेले मानव अधिकारको रक्षार्थ प्रहरी, प्रशासन, नागरिक समाज लगायतका पक्षहरुको समन्वय र सहकार्य आवश्यक रहने उल्लेख गरे ।

संविधान सभा सदस्य शान्तीदेवी हरिजनले मानव अधिकार प्रवर्द्धनको अभियानमा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिइन् । नवजीवन संस्था प्रमुख प्रेरणा बिष्टले वर्ष पुस्तकमा यौनिक अल्पसङ्ख्यकका समस्यालाई पनि वर्ष पुस्तकमा समावेस गर्न सुझाव दिइन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) कपिलवस्तुद्धारा आयोजित जिल्लाको समग्र मानवअधिकारको अवस्था विषयक अन्र्तक्रिया तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को लागि संकलित घटनाहरुको वार्षिक पूर्व समिक्षा कार्यक्रममा कपिलवस्तु कारागारका प्रमुख रेमलाल न्यौपाने, नागरिक समाज कपिलवस्तु अध्यक्ष अर्जुन पोख्रेल, शान्ती पुर्नस्थापना गृहका संयोजक भूमिराज भट्टराई, गैर सहकारी संस्था महासंघ लुम्बिनी प्रदेश अध्यक्ष जितकुमारी बेल्बासे, जवाफदेहिता निगरानी समिती संयोजक माया ज्ञवाली, साथी संस्था प्रमुख विमला घिमिरे, गैर सहकारी संस्था कपिलवस्तु प्रमुख जयप्रकाश पाण्डेय, महिला मानव अधिकार रक्षक सञ्जाल जिल्ला सचिव संगीता चौरसिया, रामदयाल ठाकुर, वडाध्यक्ष शैलेन्द्र कुमार यादव, रामआशिष पाण्डे, पार्वती पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्