पौष १९ गते । अत्यधिक चिसो बढेपछि कपिलवस्तुका स्थानीय तहले विद्यालयमा जाडो बिदा दिन सुरू गरेका छन् । कपिलवस्तु नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै आइतबार देखि १५ दिन जाडो बिदा दिएको छ । यस्तै कपिलवस्तु नगर सहित ६ पालिकाले आ-आफ्ना पालिका केन्द्रित बिद्यालयहरुमा जाडो बिदा दिएका छन् ।
कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका र यशोधरा गाउँपालिकाले बिद्यालयहरुमा जाडो बिदा दिएका हुन् । अत्याधिक चिसो तथा शीतलहरका कारण विद्यालयहरूमा पठनपाठन कार्य सञ्चालन गर्न कठिनाई भएको जनाउँदै उक्त पालिकाहरुले जाडो बिदा घोषणा गरेका हुन् ।
कपिलवस्तु नगर कार्यपालिकाको कार्यालयले शुक्रबारको निर्णय अनुसार पौष २१ देखि माघ ४ गतेसम्म सम्पूर्ण विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो । यस निर्णयले नगरपालिका क्षेत्रभित्रका सामुदायिक, संस्थागत तथा धार्मिक सबै विद्यालयहरू समेटिएको जनाइएको छ । कडा जाडो र शीतलहरका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न सक्ने र नियमित पठनपाठनमा बाधा पुग्न सक्ने भएकाले यो निर्णय गरिएको शिक्षा शाखा प्रमुख हरिप्रसाद ज्ञवालीले बताए ।
यस्तै, बुद्धभूमि नगरपालिकाले पनि शैक्षिक क्यालेण्डर अनुसार विदा दिएको छ । आफ्नो शैक्षिक क्यालेण्डर २०८१ अनुसार पौष २१ गतेदेखि माघ ११ गतेसम्म हिउँदे बिदा रहने जानकारी गराएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीद्वारा जारी गरिएको पत्र अनुसार नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा उक्त अवधिभर हिउँदे बिदा हुने उल्लेख गरिएको छ ।
यसैबीच, शिवराज नगरपालिकाले समेत हिउदे जाडो बिदा दिने निर्णय गरेको छ । नगरपालिका भित्रका सामुदायिक, संस्थागत, धार्मिक बिद्यालय तथा बालबिकासहरुमा पौष २१ देखि माघ ४ गतेसम्म जाडो बिदा दिने निर्णय गरिएको हो ।
यता, मायादेवी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, धार्मिक विद्यालय तथा बालविकास केन्द्रहरूमा हिउँदे बिदाको घोषणा गरेको छ । गाउँ कार्यपालिकाको कार्यालयले जारी गरेको पत्रानुसार शैक्षिक सत्र २०८१ को हिउँदे बिदा पौष २१ गतेदेखि माघ ८ गतेसम्म रहने जनाएको छ ।
कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण तेलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख भए अनुसार माघ ९ गतेदेखि नियमित रूपमा विद्यालयहरू सञ्चालन हुने जानकारी गराइएको छ । विद्यालयहरूले सोही अनुसार आफ्नो शैक्षिक गतिविधिहरू मिलाउन निर्देशन समेत दिइएको छ ।
शुद्धोधन गाउँपालिकाले समेत शीतलहरका कारण विद्यालयहरूमा हिउँदे बिदा घोषणा गरेको छ । गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक, धार्मिक र संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८१ को हिउँदे बिदा पौष २१ देखि पौष २९ गतेसम्म हुने जनाइएको छ ।
विगत केही दिनदेखि जारी शीतलहरका कारण पठनपाठन लगायत जनजीवनमा परेको प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै यो निर्णय गरिएको गाउँपालिका अध्यक्ष कमलेश चौधरीले जनाए । चिसोको मात्रा बढ्दै गएपछि विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राखी यो निर्णय गरिएको उनको भनाइ छ ।
यशोधरा गाउँपालिकाले पनि हिउँदे बिदाको मिति तोकेको छ । गाउँ कार्यपालिकाको कार्यालयले आजको निर्णय अनुसार गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयहरूमा पौष २१ देखि माघ ४ गतेसम्म हिउँदे बिदा दिइएको गाउँपालिका अध्यक्ष शिवदयाल तिवारीले जनाए ।