पौष १९ गते । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा बिगत दुई महिनादेखि अलपत्र रहेका बृद्धको आज उद्धार गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६, टिटिहिरिया पुल नजिकै एकै ठाउँमा बस्दै आएका उनको उद्धार गरिएको हो ।
भारतको बस्ती जिल्ला गणेशपुर घर बताउने बृद्धको दुईमहिनादेखि टिटिहिरिया पुल क्षेत्रमा अलपत्र अवस्थामा बस्दै आएका थिए । पालिका क्षेत्रमा अलपत्र परेका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको बिशेष पहल साथै शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी र उपाध्यक्ष होमप्रकाश चौधरीको समन्वयमा उद्धार गरि मानवसेवा आश्रम बुटवल पठाइएको हो ।
विगत २ महिनादेखि शुद्धोधन– ६ स्थित टिटिहिरिया पुल नजिकै खुला आकाशमूनि बसेर कष्टकर जीवनयापन गर्दै आएका बृद्धलाई आज आश्रममा पठाइएको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।
अलपत्र बृद्धको बारेमा स्थानीय सामाजिक संजालमा फाटोसहित सार्वजनिक गरेपछि उनको उद्धारमा पालिका प्रतिनिधी, प्रहरी, प्रशासन लागेका थिए । अलपत्र बृद्धका परिवार र आफन्तहरुसँग सम्पर्क हुन नसकेपछि मानवसेवा आश्रम बुटवलमा पठाइएको प्रहरी उपरिक्षक निरन्जनदत्त भट्टले बताए ।
उद्धार कार्यमा कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जनदत्त भट्ट, कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डे, ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक कमल क्षेत्री लगायत खटिएका थिए ।