पञ्चवर्षीय शिक्षा विकास योजना नगरसभामा पेश गर्ने बाणगंगाको निर्णय


पालिका पत्र

२० पुष २०८१, शनिबार ०६:४१ मा प्रकाशित

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा सम्पन्न बैठकले पौष २५ गते हुने नगरपालिकाको १६औं नगर सभाको कार्य तालिका पारित गरेको नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले जानकारी दिए ।

बैठकले पञ्चवर्षीय शिक्षा विकास योजनालाई नगरसभामा पेश गर्ने निर्णय पनि गरेको छ । साथै, ५० प्रतिशत जनसहभागिता हुने गरी ३ करोड ५ लाख र ३० प्रतिशत जनसहभागिता हुने गरी १ करोड ३५ लाख बजेट पूर्वाधार विकासका लागि थप गर्ने निर्णय भएको छ ।

यसरी, कुल ४ करोड ४० लाख बजेट पूर्वाधार विकासका लागि बिनियोजन गरिएको छ, जसमा ५०।५० र ७०।३० को अनुपातमा रकम तय गरिएको छ । बैठकमा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले नगरको विकासमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै, जनसहभागिता बढाउन ४ करोड बढी रकम पूर्वाधार विकासका लागि नगरबाट बिनियोजन गरिएको जानकारी दिए ।

बैठकमा नगर उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनि लगायतले भावी योजना, विकास र रणनीतिबारे आफ्नो धारणा राखेका थिए । बैठकमा वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरू र शाखा प्रमुखहरूको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्