कपिलवस्तुमा चालु आर्थिक वर्षमा २ सय ३९ उजुरी दर्ता, कपिलवस्तु नगरपालिका शीर्षस्थानमा


पालिका पत्र

२० पुष २०८१, शनिबार १८:५४ मा प्रकाशित

कपिलवस्तु, पौष २० ।
चालु आर्थिक वर्ष २०८१/८२ मा कपिलवस्तु जिल्लाका विभिन्न स्थानीय तहहरूमा हालसम्म २ सय ३९ वटा उजुरी दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको तथ्याङ्कअनुसार, जिल्लाका १० स्थानीय तहहरूमध्ये सबैभन्दा बढी उजुरी कपिलवस्तु नगरपालिकामा परेको छ, जसमा ४५ वटा उजुरी दर्ता भएका छन् ।

दोस्रो स्थानमा कृष्णनगर नगरपालिका रहेको छ, जहाँ ३५ उजुरी परेका छन् । यसैगरी, बुद्धभूमि नगरपालिकामा पनि ३५ उजुरी दर्ता भएका छन् । बाणगंगा नगरपालिकामा २७, मायादेवी गाउँपालिकामा २५ उजुरी दर्ता भएको छ । महराजगञ्ज नगरपालिकामा भने सबैभन्दा कम मात्र ७ उजुरी परेका छन् ।

भ्रष्टाचार नियन्त्रणमा अभियान सक्रिय
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले स्थानीय तहमा पारदर्शिता प्रवर्द्धन गर्न र भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेको जनाएको छ। यशोधरा गाउँपालिकाका प्रमुख शिव दयाल तिवारीले यशोधरा गाउँपालिकामा पनि भ्रष्टाचार विरोधी कार्यक्रम र जनचेतनामूलक अभियान सञ्चालन भइरहेको बताए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान बुटवल कार्यालयका प्रमुख राजेन्द्र कुमार पौडेलले नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम उठाउने प्रतिबद्धता व्यक्त गरे । उनले देशभरका स्थानीय तहहरूमा भ्रष्टाचार न्यूनीकरण गर्न रणनीतिक पहल गरिने जानकारी दिए ।

नेपालको स्थिति र सुधारको आवश्यकता
न्यायाधीश तिलकराम लम्सालले ट्रान्सपरेन्सी इन्टरनेशनलको २०२३ को प्रतिवेदनअनुसार नेपाल विश्व भ्रष्टाचार सूचीमा १०८औं स्थानमा रहेको जानकारी गराए । उनले नेपालले सुधारको खाँचो महसुस गर्नुपर्ने र भारतको तुलनामा स्थिति कम बिग्रिएको भए पनि सुधारका थप उपायहरू आवश्यक रहेको बताए ।

कपिलवस्तुमा उजुरीको बढ्दो सङ्ख्याले भ्रष्टाचार नियन्त्रणका अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने संकेत दिएको छ । स्थानीय तहमा जनउत्तरदायित्व र पारदर्शिता कायम गर्न यो प्रयासलाई निरन्तरता दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्