एमाले-काँग्रेसको राजनीतिक जुँगे लडाईको शिकार बन्यो कपिलवस्तु अस्पताल !


पालिका पत्र

२१ पुष २०८१, आईतवार १०:०४ मा प्रकाशित

कपिलवस्तु, पौष २१ । २ बर्ष अघि सम्म मुलुकमै उत्कृष्ट बनेको सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु अस्पताल अहिले भने अस्तब्यस्त र दयनीय अवस्थामा पुगेको छ । राजनीतिक खिचातानीले महिना महिनामै मेसुको सरुवा गरिएपछि बिरामीहरुको सेवा दिने अस्पताल आफैं बिचरा र बिरामी अवस्थामा पुगेको हो ।

बिगत ४ महिना देखि अस्पताल मेसु बिहीन अवस्थामा पुगेको छ । नवांै तहको मेसुको दरबन्दी रहेको अस्पतालमा अहिले ल्याब फाँटका छैठौं तहका कर्मचारी राकेश कुमार शाहलाई निमित्त मेसु बनाइएको छ । गत ६ महिना अघि डाक्टर बिपिन जैसवाललाई सरुवा गरी मेसु किशोर बन्जाडेलाई मेसु सरुवा गरी ल्याइएको थियो । दुबै मेसुको आपसी लडाईले गर्दा अस्पतालमा राजनीति छिरेको अस्पतालका कर्मचारीहरु बताउँछन ।

कांग्रेस र एमाले नेताले मेसु राख्ने र सरुवा गर्ने कार्यलाई प्रतिष्ठाको बिषय बनाउँदा अहिले अस्पताल दयनीय अवस्थामा पुगेको कर्मचारीहरु बताउँछन । मेसु बन्जाडेको एक महिनामै दुई पटक थमौती र दुई पटक सरुवा भएको थियो । मेसु बन्जाडेको अन्ततः बिराटनगर सरुवा भए यता अस्पताल मेसु बिहीन अवस्थामा पुगेको हो । त्यही सरुवाकै बिचमा अस्पतालमा ८६ लाखको औषधी खरिद लगायतका बिषयमा अनियमितता भएको कुरा समेत बाहिर आएको थियो ।

अस्पतालमा राजनीति छिरेपछि स्वास्थ्य कर्मचारीले पाउने सेवा सुबिधा समेत रोकिएपछि अस्पतालमा धमाधम मेडीकल अफिसर र स्टाफ नर्सले नोकरी छाडेर गएको अस्पताल प्रशासनले जनाएको छ । ११ जना मेडीकल अफीसरको दरबन्दी रहेको अस्पतालमा अहिले जम्मा ५ जना मात्र कार्यरत छन । छात्रबृत्ति पाएका डाक्टरहरु समेत अहिले अस्पतालबाट बिदा लिएर गईसकेका छन । ६ जना नर्सहरुले समेत जागीर छाडेका छन् ।

अस्पतालमा ८ महिना देखि स्वास्थ्यकर्मीले पाउँदै आएको सेवा रोकिएको छ । फोर्मेसीमा औषधी सकिएको छ । औाषधी खरिदकालागि नया खरिद समिति समेत बन्न सकेको छैन् । अस्पतालमा आउने स्वास्थ्य बिमा र अन्य बिरामीहरु समेत औषधी नपाउँदा रित्तो हात निराश बनेर फर्किने गरेका छन् । औषधीको स्टक समेत सकिएको छ । अल्ट्रा साउन्ड मेशीन समेत महिनौ देखि बिग्रीएर थन्किएको छ ।

अस्पतालमा रहेको एउटा मात्र ईसिजी मेशीन समेत बिग्रीएको छ । डाक्टरको अभावले आमा सुरक्षा कार्यक्रम समेत प्रभावित भएको छ । यशोधरा गाउपालिकी पुर्व उप प्रमुख तथा तौलिहवाबासी कन्यावती उपाध्यायले अस्पताल जस्तो संबेदनशील ठाउँ तीब्र राजनीतिको शिकार भएको बताईन । ‘अस्पतालमा सेवा बढाउनु भन्दा राजनितिक दल मेसुको सरुवा गर्न र रोक्नमै लागेकोले अस्पतालको अहिले यस्तो हबिगत भएको हो’ उनले भने । अस्पतालको सुधारमा भने कसैले चासो नदिएको उनले गुनासो गरिन ।

अस्पताल प्रति बिरामीहरुको बिश्वास समेत घटेकाले बिगतको तुलनामा अहिले बिरामीको संख्या समेत घटेको छ । निमित्त मेसु शाहले अस्पताल राजनीतिको शिकार भएको बताए । उनले अस्पतालमा मेसु नहुदा धेरै कामहरु रोकिएको बताए । डाक्टर र औषधीको अभावले बिरामीहरु मर्कामा परेको भन्दै उनले निमित्त मेसुको हैसियतले आफुले सक्दो कोसिश गरेको बताए । उनले अस्पतालमा राजनीति हस्तक्षेप रहेसम्म सुधार हुन गाह्रो हुने बताए ।

उता अस्पताल बिकास समितका अध्यक्ष शिवलाल यादवले अस्पतालमा धेरै राजनीति घुसेकोले समस्या आएको बताए । उनले राजनीतक दलका नेता, मन्त्रालय कसैले पनि कपिलवस्तु अस्पताल सुधारका लागि पहल नगरको गुनासो गरे । उनले सबैको प्रयासले अस्पतालमा सुधार गर्नुपर्ने बताए ।

बि.सं. २०२९ सालमा १५ बेडको अस्पतालको शुभारम्भ गरिएको थियो । २०७६ सालमा कपिलवस्तु अस्पताल ५० बेडको बनेको थियो । अस्पतालमा सय बेडको सेवा शुभारम्भ गर्नु पर्ने कुरा उठीहरेको बेला अस्पताल दयनीय अवस्थामा पुगेपछि नगरबासी निराश बनेका छन् ।

यो अस्पताल दयनीय अवस्थामा पुगेको बेला भने बाणगंगा नगरपालिकाको पिपरा अस्पतालमा भने सेवा बिस्तारले गर्दा प्रभावकारी बन्दै गएको छ । कपिलवस्तु २ बर्ष अघि अघि ९६ अंकका साथ मुलुकमै उत्कृष्ट बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्