बाणगंगा, पौष २४ ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड मोतिपुरको नवौँ अधिवेशन हाल बाणगंगा नगरपालिका क्षेत्रमा जारी छ । तीन हजार एक सय चौरानब्बे सेयर सदस्य रहेको यस सहकारीलाई नौ वटा अन्तरसमूहमा विभाजन गरी कार्यक्षेत्र छुट्याइएको छ । सहकारीको वित्तीय कारोबार बाणगंगा नगरपालिका वडा नम्बर ७ र ८ मा सीमित भए पनि साविक मोतिपुरका वडाहरू १ देखि ९ सम्मका आधारमा अन्तरसमूह गठन गरिएको हो ।
हाल ती अन्तरसमूहहरूको निर्वाचन प्रक्रिया चलिरहेको छ । यस निर्वाचनमा राजनीतिक प्रभाव स्पष्ट देखिएको छ । मुख्यतः एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको छ भने नेपाली कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिएको छ । विभिन्न निर्वाचन परिणामहरूको आधारमा बाणगंगा वडा नम्बर ७ र ८ एमालेको गढ मानिँदै आएको छ। साविक मोतिपुर वडा नम्बर ८ ढोडेकोलमा एमालेका उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् ।
साविक वडा नम्बर ९ मर्मि र साविक वडा नम्बर ५ चप्पर गाउँमा नेपाली कांग्रेसका उम्मेदवारले निर्वाचन जितेका छन्। नौमध्ये छ वटा अन्तरसमूहहरूको निर्वाचन प्रक्रिया अझै जारी रहेको जनाइएको छ । यस क्रममा विभिन्न वडाहरूमा प्रतिस्पर्धा कडा देखिएको छ । यो नवौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरी संस्थाको आगामी योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।