कपिलवस्तुको बाणगङ्गामा स्थानीय तोरी जातको बिउ विकास गर्ने उद्देश्यले कृषक पाठशाला तथा छलफल गरिएको छ । राष्ट्रिय आनुवंशिक केन्द्र ( जिन बैङ्कको ) आयोजना तथा एफ.ए.ओ नेपालको आर्थिक सहयोगमा वडा न. ८ मधुवनमा पाठशाला गरिएको हो । कार्यक्रममा नार्कका प्राविधिक अधिकृत डा. मुकुन्द भट्टराईले बिउको विषयमा जानकारी गरेका थिए ।
यता कृषि मन्त्रालयका सह सचिव रामकृष्ण श्रेष्ठले जलवायु परिवर्तनको असरको बारेमा पटक पटक छलफल जरुरी रहेको बताए । उनले जलवायु परिवर्तनले पुगेका असरहरूको बारेमा कृषकहरूले जानकारी लिन आवश्यक रहेको समेत बताएका छन् । श्रेष्ठले रैथाने बाली हराउन थालेकाले यसको संरक्षण गर्दै बिउ बजारबाट किन्ने अवस्थाको अन्त्य गर्नु पर्ने बेला आएको जनाए । रैथाने बालिले विभिन्न रोगहरू सँग लड्ने क्षमता रहेकाले पनि यसको संरक्षणमा ध्यान दिन आवश्यक रहेको जानकारी दिए । सरकारले प्रविधि युक्त खेतीमा कृषकलाई आर्कषण गर्ने खालका कार्य योजना बनाउन आवश्यक देखिएको उनको भनाई छ ।
नार्कका डाइरेक्टर डा. बालकृष्ण जोसीले माटोको क्षमता अनुसार उत्पादन हुने भएकाले प्रविधिको आधारमा कृषकलाई उत्पादनमा जोड्नु पर्ने बताए । उनले बिउको समस्या अन्त्य गर्न कृषकले आफै बिउ उत्पादनमा पनि जोड दिनु पर्ने बेला आएको उनको भनाइ रहेको थियो ।
नार्कका प्रशिक्षक राजेन्द्र प्रसाद पौडेलले कपिलवस्तु तोरीको खेतीको लागि उचित स्थान भएको बताएका छन् । उनले तोरी खेतीले गहुँको स्थान पनि तोरीले लिन थालेकाले राम्रो मानिएको बताए । अनुसन्धानका लागि केही ढिला भएको बताउँदै स्थानीय कृषको अनुभवको आधारमा माटो परिक्षण गरी विभिन्न प्रजातिका तारी बाली लगाउने योजना बनाएको बताए । उनले चाइनिज र भारतीय तोरीलाई विस्थापित गरेर नेपाली बिउ प्रयोग गरेर प्रजनन प्रकृयामा अगाडि बढाइएको समेत बताए ।
कार्यक्रममा बाणगङ्गा नगरपालिकाका कृषि विकास शाखा प्रमुख लेष बहादुर केसीले कृषकहरूलाई कृषि शाखा सँग नजिक हुन आग्रह गरेका छन् । उनले मापदण्ड पुगेका कृषकहरूले अनुदान पाउनको लागि अलिकति धाउन पर्ने बताए । केसीले नगरपालिकाले यस वर्ष २ करोड भन्दा बढि अनुदान वितरण गरेको बताए ।
कार्यक्रममा बाणगङ्गा नगरपालिका वडा न. ८ का कार्यवाहक वडा अध्यक्ष विश्वस जिसीले नगरपालिका तथा वडा कार्यालय स्थानीय कृषि उत्पादनको लागि सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा एफ.ए.ओ नेपालका सुप्रभा आचार्य र सोफिना महर्जनले यस क्षेत्रमा तोरीबारीमा के कस्ता समस्या छन् र समाधानका लागि के कस्ता उपायहरू अपनाउन सकिन्छ भनेर कृषक सँग अन्तरक्रिया समेत गर्नु भएको थियो ।
कृषक हरि अर्यालले समयमा मल पाउन नसक्ने समस्या रहेको बताए । अर्का कृषक रेवता पौडेलले लोकल तोरीको उत्पादन कम हुने भएकाले हाइब्रिड तोरीलाई उत्पादनमा जोडेको बताइन् । उनले तोरी खेती भएको स्थानमा मौरीको घरहरू र कतै मछ्र जारीको प्रयोग गरेर उत्पादनको फरक छुट्याउने कोसिस भएको जानकारी दिइन् । यस क्षेत्रमा माटो अनुसारको उत्पादन कसरी लिन सकिन्छ भनेर अनुसन्धान आवश्यक रहेको उनले बताइन् ।
छलफलमा सहभागि कृषकहरूले नयाँ प्रविधिबाट गरिएका अनुसन्धानात्मक तोरी खेतीको बारेमा सिकेका नयाँ कुराहरूलाई उत्पादन वृद्धिमा जोड्न सकिने विश्वास व्यक्त गरेका छन् ।