श्रीमानको निर्देशनमा चरेश तस्करी गर्ने महिला पक्राउ


पालिका पत्र

१४ माघ २०८१, सोमबार २०:५२ मा प्रकाशित

कपिलवस्तु, माघ १४ । कपिलवस्तुको कृष्णनगर नगरपालिका- २ झन्डेनगर सिमाक्षेत्रबाट १ किलो २५ ग्राम चरेशसहित एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा शिवराज नगरपालिका- ३ चन्द्रौटा निवासी ३० वर्षीया सरस्वती बिक रहेकी छिन् ।

कृष्णनगर प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार दिउँसो करिब ३ बजे विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकी बिकले बयानमा आफ्नै श्रीमानले भारतको बढनी बजारमा पुर्‍याउन भनेर चरेश दिएको बताएकी छिन् ।

कृष्णनगर सशस्त्र प्रहरी बलको पोष्ट छल्दै भारततर्फ जाँदै गर्दा उनलाई नेपाल प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी बिकलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

श्राेतका अनुसार तस्करहरूले जाडोको समयमा कृष्णनगर क्षेत्रबाट लुगाकपडा भित्र लुकाएर भरिया मार्फत चरेश तस्करी गर्ने र भारतमा पठाउने गरेको पाइएको छ । यस क्षेत्रमा लागूऔषध तस्करीका घटनाहरू बढ्दै गएकोले प्रहरीले निगरानी बढाएको छ ।

प्रहरीले यस क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणका लागि विशेष रणनीति अपनाएको जनाएको छ । यस्ता गैरकानूनी गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाही गरिने प्रहरी निरीक्षक खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्