क्षमता भन्दा बढी सिट राख्ने सवारीको सिट काट्न थालियो


१७ माघ २०८१, बिहीबार १६:१० मा प्रकाशित


कपिलवस्तु, १७ माघ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले क्षमता भन्दा बढी सिट राखेर यात्रु बोक्ने सवारी साधनहरूलाई कारवाही गर्दै ती सवारी साधनका अतिरिक्त सिटहरू हटाउन थालेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने विन्दुहरूलाई न्यून गर्न यो कदम चालिएको हो ।


प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले भने, “यातायात नियम पालनालाई कडाइका साथ लागू गर्न र यात्रु सुरक्षालाई ध्यानमा राखी विङगर तथा हाईस जस्ता सार्वजनिक सवारीसाधनका अनधिकृत सिटहरू मेसिनको सहायताले काटेर हटाइँदै छन् ।” कारवाहीको क्रममा चालकलाई सचेत गराइने र जरिवाना समेत गरिने बताइएको छ ।


ट्राफिक प्रहरीका अनुसार, यो अभियानलाई अझ कडाइका साथ निरन्तरता दिइने छ । ट्राफिक कार्यालयले यातायात व्यवस्था ऐन विपरीत सञ्चालनमा रहेका साना तथा ठूला सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया तीव्र बनाएको छ ।


पछिल्लो तीन महिनामा धेरै सवारी साधन कारवाहीमा परेका छन् । क्षमता भन्दा बढी सिट राख्ने सवारी साधन, बुलेट मोटरसाइकलमा साइलेन्सर परिवर्तन गरी ठूलो आवाज निकाल्ने तथा ध्वनि प्रदूषण गर्ने सवारी साधनमाथि कडा निगरानी राखिएको छ। एक महिनाको अवधिमा ३८ वटा बुलेट मोटरसाइकल नियन्त्रणमा लिइएको छ । ती मोटरसाइकललाई यातायात व्यवस्था कार्यालय बुटवल मार्फत १० हजार रुपैयाँ जरिवाना गरी साइलेन्सर पुनः सामान्य बनाएपछि मात्र छाडिएको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिए ।


दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। लुम्बिनी प्रदेशभरि चालक, सहचालक तथा पैदल यात्रुहरूका लागि सचेतनामूलक अभियानहरू सञ्चालन गर्ने, चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गर्ने जस्ता कार्यक्रमहरू निरन्तर जारी रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्