चिल्ड्रन्ज प्यारडाइस स्कुलमा नयाँ व्यवस्थापन, शिक्षामा सुधारको प्रतिबद्धता


पालिका पत्र

१८ माघ २०८१, शुक्रबार २०:२८ मा प्रकाशित

बाणगङ्गा, १८ माघ ।
चिल्ड्रन्ज प्यारडाइस ईङ्गलीस बोर्डिङ स्कुलले अभिभावक तथा शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले शुक्रवार विद्यालयको प्राङ्गणमा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा चिल्ड्रन्ज प्यारडाइस ईङ्गलीस बोर्डिङ स्कुल काठमाण्डौंका केही शैक्षिक व्यक्तित्वहरुको टिमले जिम्मा लिने विषयको जानकारी गराइएको थियो ।


उक्त टिमले प्यारडाइसका पुराना सदस्यहरूको पनि स्वामित्व रहने गरि जिम्मा लिएको विद्यालयका निर्देशक विष्णु प्रसाद अर्यालले बताए । उनले विद्यालय अव नयाँ ढंगबाट सञ्चालन हुने जानकारी दिए । निर्देशक अर्यालले नयाँ टिमलाई रिजल्ट आउने गरि काम गर्नु पर्ने र अभिभावक र विद्यार्थीको मन जित्नु पर्ने बताए । अर्यालले चिल्ड्रन्ज प्यारडाइसलाई उत्कृष्ट विद्यालयका रूपमा स्थापित गर्न सम्पूर्ण टिम लागिपर्ने बताए । उनले विद्यार्थीको उज्ज्वल भविष्य सुनिश्चित गर्न अभिभावक, शिक्षक, तथा व्यवस्थापन टिमको सहकार्य आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा विद्यालयका प्रिन्सिपल केशव सापकोटाले विद्यालयको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

यता विद्यालयको जिम्मा लिएको टिमका प्रमुख माधव बेल्बासेले आफ्ना भावी योजना अभिभावकलाई सुनाएका थिए । उनले आफ्नो जन्म थलो यस स्थानमा भएकोले पनि वाणगङ्गामा  शिक्षामा लगानी गर्न आवश्यक रहेको बताए । उनले बालबालिकाहरूलाई कस्तो खालको शिक्षा आवश्यकता छ भनी पहिचान गरेर चिल्ड्रन्ज प्यारडाइस अगाडी बढाउने बताए । यस्तै उनले बालबालिकालाई संस्कार सहितको सार्थक शिक्षा प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । बेल्बासेले आधुनिक शिक्षण विधिहरू लागू गर्दै विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गरिने बताए ।

कार्यक्रममा अभिभावकहरूलाई प्रश्न गर्न लगाइएको थियो । अभिभावकहरूले नतिजा हेरेर मात्र आवश्यक प्रश्न गर्ने बताए । केही अभिभावकहरूले प्रश्न समेत गरेका थिए । विद्यालयको गुणस्तर सुधार, विद्यार्थीको शैक्षिक उपलब्धि, र भौतिक पूर्वाधार विस्तारका विषयमा समेत छलफल भएको थियो ।

कार्यक्रममा सिद्धार्थ क्याम्पसका पुर्व क्याम्पस प्रमुख बलराम ज्ञवालीले संस्कार सहितको सार्थक शिक्षा नै अहिलेको आवश्यकता भएको भन्दै विभिन्न उदाहरण समेत दिएका थिए । कार्यक्रममा विभिन्न वक्ताहरूले गुणस्तरीय शिक्षाको आवश्यकता, आधुनिक शिक्षण प्रणालीको उपयोग, र विद्यार्थी केन्द्रित शिक्षाको महत्वबारे प्रकाश पारेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पौडेलले सहभागी सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद दिँदै विद्यालयलाई अझ प्रभावकारी बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा विद्यालयका व्यवस्थापन समिति राम प्रसाद पौडेलको अध्यक्षता तथा शिक्षक बुद्ध गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, तथा अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्