बाणगंगा वडा न. ३ को प्रशासनिक भवन उद्घाटन


पालिका पत्र

२१ माघ २०८१, सोमबार १९:१६ मा प्रकाशित

बाणगंगा, माघ २१ । बाणगंगा नगरपालिका वडा नं. ३ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । सोमबार वसन्त पञ्चमीको अवसरमा भवनको उद्घाटन गरिएको हो । गंगौलियामा निर्मित यस भवनको नगरप्रमुख चक्रपाणी अर्यालले उद्घाटन गरेका हुन् । नवनिर्मित भवनबाट अब स्थानीय वडावासीले छिटोछरितो, प्रभावकारी र प्रविधिमैत्री सेवा प्राप्त गर्ने नगरप्रमुख अर्यालले बताए।

उद्घाटन समारोहमा नगरप्रमुख अर्यालले सर्वसुलभ सेवाका लागि वडाबासीलाई पायक पर्ने स्थानमै अत्याधुनिक कार्यालय निर्माण गरिएको उल्लेख गर्दै सेवा प्रवाह थप प्रभावकारी र गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे । उपप्रमुख रिता कुमारी चौधरीले प्रारम्भिक चरणमा केही व्यवस्थापनका चुनौती रहे पनि क्रमशः समाधान हुने बताइन् । उनले नयाँ भवन निर्माण भएसँगै सेवाग्राहीलाई अब विगतमा जस्तो कठिनाइ झेल्न नपर्ने उल्लेख गरिन् ।

वडाध्यक्ष टेक बहादुर झेडी मगरले यसअघि भाडामा सेवा सञ्चालन गर्नुपरेको स्मरण गर्दै नयाँ भवनबाट प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रवाह हुने बताए । उनले भवन उद्घाटन भएसँगै वडाको सेवा प्रणालीमा सुधार आउने र थप योजनाहरू कार्यान्वयन गर्ने ऊर्जा मिलेको बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले करिब १ करोड ४० लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको जानकारी दिए । बाणगंगाका ११ वटै वडा कार्यालयलाई अपाङ्गमैत्री, प्रविधिमैत्री र अत्याधुनिक बनाउन प्रयास भइरहेको उनले बताए ।

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, समाजसेवी तथा वडावासीको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न वक्ताले वडावासीको प्रत्यक्ष सहभागिता र सहकार्यका कारण सेवा प्रवाह अझ सहज हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्