बाणगंगा, माघ २१ । बाणगंगा नगरपालिका वडा नं. १ मा अवस्थित जीतपुर मन्टेश्वरी स्कुलको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार वसन्त पञ्चमीको अवसरमा पारेर भवनको उद्घाटन गरिएको हो । नगरप्रमुख चक्रपाणी अर्यालले उक्त उद्घाटन गरेका छन् ।
विगत ६ वर्षदेखि असिम कँडेल क्षेत्री र विकास शर्माको संयुक्त लगानीमा संचालनमा रहेको यस विद्यालयले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।
उद्घाटन समारोहमा नगरप्रमुख अर्यालले विद्यालय संचालनलाई आर्थिक दृष्टिकोणले मात्रै नहेरी सामाजिक कार्यको रूपमा बुझ्नुपर्ने बताए । साथै, मन्टेश्वरी शिक्षा प्रणालीले बालबालिकालाई नैतिकता, चालचलन र प्रविधिसँग जोड्ने महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे ।
नगरप्रमुख अर्यालले बाणगंगा नगर क्षेत्रका मन्टेश्वरी विद्यालयहरूलाई नगरपालिकाले अभिभावकत्व प्रदान गर्दै आएको बताए । साथै, विद्यालयको संचालन विधि तथा प्रक्रियालाई प्रभावकारी रूपमा नियमन गरिने उनले उल्लेख गरे ।
स्कुलका संचालक असिम कँडेल क्षेत्रीले बालबालिकाको आवश्यकता र अभिभावकको मागलाई ध्यानमा राखी नयाँ भवन निर्माण गरिएको बताए । उनले विद्यालयमा बालबालिकाको मनोविज्ञानअनुसार शैक्षिक तथा सिर्जनात्मक क्रियाकलाप संचालन हुँदै आएको उल्लेख गरे । त्यस्तै, अर्का संचालक विकास शर्माले नयाँ भवनमा बालबालिकामैत्री वातावरण तथा रमाइलो सिकाइ प्रणालीको व्यवस्था गरिएको जानकारी गराए ।
कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डोकलराम घिमिरे, व्यापार संघका अध्यक्ष खिमानन्द पौडेल, समाजसेवी सुर्य बराललगायतले जीतपुर मन्टेश्वरी उत्कृष्ट शिक्षालयको रूपमा विकास हुँदै गएकोमा प्रसन्नता व्यक्त गरे ।कार्यक्रमको सञ्चालन पूर्णचन्द्र परियारले गरेका थिए भने स्वागत मन्तव्य सुसिल पौडेलले दिएका थिए ।