कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । विहीवार बाणगङ्गा नगरपालिका वडा नं. ११ स्थित सामुदायिक भवनमा सुनुवाइ गरिएको हो ।
कार्यक्रम बाणगङ्गा नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासङ्घ, कपिलवस्तुको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । सुनुवाइ कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरपालिकाको समग्र प्रगति विवरण प्रस्तुत गर्दै सुरु गरेका थिए । उनले नगरपालिकाले सञ्चालन गरेका प्रमुख योजनाहरू, हालसम्मका उपलब्धि तथा आगामी दिनमा कार्यान्वयन गरिने योजनाबारे जानकारी गराए ।
सुनुवाइका क्रममा स्थानीयवासीहरूले विभिन्न समस्या तथा गुनासाहरू व्यक्त गरे । नगरवासी लक्ष्मण कँडेल र मनोहर योगीले नगरपालिकासँग सम्बन्धित सेवा प्रवाहमा सुधारको माग राख्दै आफ्नो गुनासो राखेका थिए । त्यस्तै, नारायण भुसालसहित अन्य स्थानीयहरूले पनि नगरपालिकाको कामकारवाहीप्रति आफ्ना प्रश्नहरू राखे ।
नगर प्रमुख चक्रपाणि अर्यालले कार्यक्रममार्फत नगरवासीका गुनासाहरू सुन्दै ती प्रश्नहरूको जवाफ दिए ।
मेयर अर्यालले उपलब्ध स्रोत, साधन अनुसारको विकास निर्माणका काम भएको दाबी गरेका छन् । आफू पहिलो पटक उपप्रमुखमा निर्वाचित हुँदा र अहिले नगरप्रमुख भएर काम गरिरहदाँ बाणगङ्गामा भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेख्य काम भएको उनको भनाई छ ।
उनले सडक पूर्वाधारमा एक चरणको काम भइसकेको भन्दै अब सामाजिक विकासलाई नगरले जोड दिने बताए । सो क्रममा उनले बुङ्ची − जहदी सडकखण्डलाई प्रदेशबाट ४ करोड बढी रकम थप भएर आएको बताए । उनले यसै वर्ष उक्त सडकखण्डको काम हुने गरि प्रक्रिया अघि बढेको बताए ।
वडा नं. १० र ११ लाई नगरले विशेष प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आएको बताउँदै उनले भने, नगरका सबै वडामा समानुपातिक विकास होस् भनेर अहिले नगरले यी २ वडालाई प्राथमिकता दिएको छ । नगरले यस क्षेत्रको विकासका लागि अन्य सम्बन्धित निकायमा बजेटका लागि पहल समेत गरेको छ ।’
उनले चक्रपथ, फोहोरमैला प्रशोधन केन्द्र र बुद्धरंगशालालाई गौरवका योजनाका रुपमा राखेर काम भइरहेको बताए । फोहोरमैला प्रशोधन केन्द्र र बसपार्क निर्माणको लागि नगर जग्गा प्राप्तिको प्रक्रिया रहेको उनले जानकारी दिए । वर्षेनी नदी कटानको विषय गम्भिर रहेको भन्दै उनले भने, ‘नदी कटान नियन्त्रणका लागि अर्बौ रकमको आवश्यक पर्छ । त्यो नगरको स्रोत साधनले सम्भव छैन् । यद्यपि नगरले हरेक वर्ष लाखौं रुपैयाँ विनियोजन गरेर कटान नियन्त्रणको प्रयास गरिरहेको छ ।’
उनले नदी कटानको दिर्घकालीन असरलाई ध्यानमा राखेर नगरले प्रदेश र संघमा पटकपटक बजेट माग गरेको उनले स्मरण गरे । उनले कृषिका लागि पर्याप्त मलको नहुनु राष्ट्रिय समस्या नै रहेको भन्दै माथिबाट आएको मल नै नगरले वितरण गर्दै आएको स्पष्ट पारे ।
उनले भूमि समस्या समाधान आयोग गठन भईसकेकाले अब छिट्टै बाणगङ्गामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थितको काम पहिले कै विन्दुबाट अघि बढ्ने बताए । उनले यस समसयालाई सधैका लागि अन्त्य गर्न नगरले चाहेको बताए । उनले नगरपालिकाले विकासका क्षेत्रमा थप सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पत्रकारहरूप्रति उठेका केही गुनासाहरूको जवाफ नेपाल पत्रकार महासङ्घ, कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले दिएका थिए । उनले पत्रकारिताले पारदर्शी रूपमा काम गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै नगरपालिकासँग सहकार्य गर्दै स्थानीय तहको सुशासन प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताए ।
सुनुवाइ कार्यक्रममा नागरिक प्रतिवेदन पत्रकार भगवती न्यौपानेले प्रस्तुत गरिन् भने बर्हिगमन प्रतिवेदन मोहन बेल्लबासेले प्रस्तुत गरेका थिए । कार्यक्रममा बाणगङ्गा नगरपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्थानीय नागरिक, पत्रकार तथा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासङ्घ, कपिलवस्तुका सह(सचिव पिताम्बर घिमिरे (हरि)ले गरेका थिए ।