सांसदको आश्वासन पटक–पटक, तर सडक निर्माण कहिले ?


२६ माघ २०८१, शनिबार १८:१३ मा प्रकाशित

डिलाराम भुसाल, २६ माघ ।

सडकको बेहाल स्थिति हेर्न अब कुनै गाउँ कुर्नुपर्दैन । देशकै मुख्य राजमार्ग महेन्द्र राजमार्गकै छेउमा पर्ने कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ७ घेरुवा वनगाईदेखि मोतिपुर हुँदै कपिलधामसम्मको सडक चिर्काट भएको दशकौं भइसक्यो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा घन्काउने सरकारका आँखा यो भत्किएको सडकमा किन नपरेको ? स्थानीयहरु आक्रोशित छन् ।

सडकको बेहालमा राज्यका उच्च ओहदाका व्यक्तिहरू समेत दोषी छन् । संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीकै निर्वाचन क्षेत्र यही पर्छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समेत यही बाटो भएर दिनहुँ यात्रा गर्छन् । तर, न उनीहरूलाई सडकको खाल्डाखुल्डी देखिन्छ, न जनताको सास्ती महसुस हुन्छ । यत्रो संख्यामा सवारी साधन गुड्ने यो सडकलाई सरकारले अझै प्राथमिकतामा राखेको छैन, जसले सरकारको लाचारीपन उजागर गर्छ ।

वनगाई-मोतिपुर-कपिलधाम-जिनुवा-डोहोटे हुँदै अर्घाखाँची जोड्ने यो महत्वपूर्ण सडक खण्ड केही ठाउँमा कालोपत्रे गरिएको भए पनि अधिकांश भाग जीर्ण भइसकेको छ । विशेषगरी वनगाईदेखि कपिलधामसम्म र पडेरियादेखि डोहोटेसम्मको सडक अत्यन्तै खराब अवस्थामा छ । स्थानीय बासिन्दाहरू वर्षौँदेखि सास्ती खेपिरहेका छन् । गर्मीमा धुलाम्मे, वर्षातमा कीचडले भरिएको यो बाटो यात्रा गर्नेहरुकै लागि अभिशाप बनेको छ । ठूला खाल्डाखुल्डीले दुर्घटनाको जोखिम अत्यधिक बढाएको छ । स्थानीय राजकुमार क्षेत्री भन्छन्, ‘सडक हिँड्न लायक छैन, सरकारका मन्त्रीहरु यहाँ आउँदा पनि केही देख्दैनन् । हामीले भोगेको पीडा उनीहरूलाई किन महसुस हुँदैन ?’

घेरुवा वनगाईको शिवालय मन्दिरदेखि कपिलधामसम्मको सडक नराम्रोसँग बिग्रेको छ भने पहाडी भूभाग पर्ने पडेरियादेखि डोहोटेसम्मको अवस्था झनै नाजुक छ । साना, ठूला हजारौं सवारी साधनहरू दिनहुँ गुड्ने यो सडक दिनप्रतिदिन झन् विकराल बन्दै गएको छ । खाल्डाखुल्डी पुर्ने सामान्य काम समेत सरकारले नगरेको स्थानीयको आरोप छ । दैनिक हजारौं मानिस आवतजावत गर्ने यो सडकको दुरावस्थाले समग्र विकासको गति नै अवरुद्ध भएको छ । जब राजधानी जोड्ने मुख्य सडक नै यो अवस्थामा छ भने गाउँघरका अन्य सडकहरूको अवस्था कस्तो होला भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।

सडकको यो दुर्दशा देखेर लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले स्थानीयहरूलाई ‘अब बन्नेछ’ भनेर अनेकौँ पटक आश्वासन दिएका छन् । सडक डिभिजन कार्यालयका कर्मचारीहरू बेलाबेलामा आएर बाटो नापेर फर्किन्छन्, तर काम कहिल्यै सुरु हुँदैन । ‘हामी वर्षौँदेखि यातनामा छौं, कहिले सम्म सास्ती खेप्ने ? सम्बन्धित निकायहरू कानमा तेल हालेर बस्ने हो ?’ स्थानीय प्रकाश भुसाल आक्रोशित हुँदै भन्छन् । सरकारको लाचारी, प्रशासनको अकर्मण्यता र जनप्रतिनिधिहरूको निष्क्रियताका कारण स्थानीय जनताले निरन्तर पीडा सहनु परेको छ । कहिले सुध्रिने हो यो सडक ? जनता जवाफ खोजिरहेका छन्, तर सरकार मौन छ !

प्रतिक्रिया दिनुहोस्