
माघ २९ गते । कपिलवस्तुको तौलिहवामा सम्पन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८१ को छनौट प्रतियोगिता गौतम बुद्ध क्रिकेट क्लबले जितेको छ । निर्धारित ३५ ओभरको खेलमा पहिले ब्याटिङ्ग गरेको भागिरथी क्रिकेट क्लबले २२ ओभरमा अलआउट हुदैँ ६७ रन जोडेको थियो । ६८ रनको झिनो बिजय लक्ष्य पाएको गौतम बुद्ध क्रिकेट क्लबले १३ ओभर ४ बलमा ३ बिकेट गुमाउदै ६८ रन बनाएर छनौट कप जितेको थियो ।
बलिङ्ग तर्फ गौतम बुद्धका खेलाडी रमेश पाठकले ५ ओभरमा १ मेडन सहित १३ रन दिदै ३ बिकेट लिएका थिए । त्यसै गरि ब्याटिङ्ग तर्फ सोहि टोलीका खेलाडी संजय भरले ३४ रनमा नटआउट ३१ रन बनाउदै टिमलाई जिताउन भुमिका खेलेका थिए ।
प्रतियोगिताको बिजेता र उपबिजेता टोलीलाई कपिलवस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरे, लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहम्मद जाहिद खाँ, क्रिकेट संघका जिल्ला उपाध्यक्ष बिसेन्द्रसिंह रावल, सचिव अजय शर्मा, कोषाध्यक्ष पदमराज श्रेष्ठ, सदस्य माया ज्ञवाली, एम्पायर दिपक खड्का लगायतले ट्रफी हस्तान्तरण गरेका थिए ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशसभाका सदस्य सुधाकर पाण्डेयले खेलाडीले आफ्नो प्रतिभालाई उजागर गरि जिल्ला र देशको गौरब राख्न भुमिका खेल्नुपर्ने बताए । जिल्लाका खेलाडीको उत्कृष्ट प्रदर्शन रहदै आएकोमा आगामी दिनमा राष्ट्रिय र अन्तरराष्ट्रियस्तरको प्रदर्शन गर्नेमा आफुहरू बिश्वस्त रहेको क्रिकेट संघका अध्यक्ष तथा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले बताए ।
जिल्लाभरीका चार टोलीले लिग चरणको ६ खेल खेलेसगै उत्कृष्ट दुई टिम बिच फाईनल प्रतिस्पर्धा गराईएको थियो । छनौट खेलमा सहभागी खेलाडी मध्यको प्रदर्शनका आधारमा क्रिकेट संघका जिल्ला उपाध्यक्ष बिशेन्द्रसिंह रावलको संयोजकत्वमा संघका सचिव अजय शर्मा र सदस्य माया ज्ञवाली सदस्य रहेको तिन सदस्यीय समितिले प्रदेशस्तरमा खेल्ने जिल्लाको टोली छनौट गर्नेछ ।