बुटवल उपमहानगरपालिकाको ६६औं स्थापना दिवस भव्यः महानगर बन्ने सम्भावना


पालिका पत्र

३ फाल्गुन २०८१, शनिबार २१:०७ मा प्रकाशित

बुटवल, ०३ माघ । बुटवल उपमहानगरपालिकाले ६६ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । बटौली बजारलाई वि.र्सं. २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ । मूल समारोहको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे । सो अवसरमा बोल्दै उपप्रधानमन्त्री सिंहले क्राइटेरिया पुगेमा बुटवल उपमहानगरबाट महानगरपालिका बन्ने बताए ।

यस्तै बुटवल पहिलेबाटै आर्थिक गतिविधिको केन्द्रका रूपका रहेको भन्दै धार्मिक पर्यटनका लागि पनि प्रचुर सम्भावना रहेको बताए । आर्थिक गतिविधि मात्र होइन बुद्ध जन्मस्थल लुम्बिनी देखि मुक्तिनाथसम्म जोडेर धार्मिक सर्किट बनाउन सकिने सिंहको तर्क थियो ।

यस्तै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले आफुले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मूख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताए । साथै बुटवललाई आममानिसको रोजाईको सहर बनाउने, सबैखालका सेवासुविधाहरु सहज र सर्वसुलभ रुपमा उपलब्ध हुने अवस्थाको सिर्जना गर्नतर्फ आफ्नो विशेष ध्यान रहेको बताए । साथै उनले साढे २ वर्षमा बुटवलमा हामीले केही नतिजा दिनसक्ने अवस्थामा पुगेको दावी गरे ।

बुटवल उपमहानगरपालिका पूर्व मेयर तथा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवल सम्भावना बोकेको शहर भएकाले विकासका लागि सबै साथ र सहयोग आवश्यक रहेको बताए । उनले बुटवलको विकासका लागि आफुले सक्दो सहयोग निरन्तर रुपमा गर्ने बताए । बुटवल उपमहानगरपालिकी उपप्रमुख सावित्रा अर्यालले बुटवलको विकासमा आफुहरु निरन्तर रुपमा लागेको बताइन् ।

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश्वर कोराइला, तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ, बुटवल उपमहानगरपालिका पूर्व मेयर शिवराज सुवेदी, बुटवल उपमहानगरपालिका पूर्व उपप्रमुख रामेश्वर श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले मन्त्वय व्यक्त गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट करदाता, उत्कृष्ट कर्मचारी, उत्कृष्ट टोल विकास संस्था, उपभोक्ता समिति, उत्कृष्ट निर्माण व्यवसायी, सञ्चारकर्मीलगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्