बोडगाउँमा मालपोत तथा नापी कार्यालयको उद्‌घाटन तयारी पुराः गलत समाचार नफैलाउन आग्रह


पालिका पत्र

३ फाल्गुन २०८१, शनिबार २१:५९ मा प्रकाशित

कपिलवस्तु, माघ ०३ ।  बाणगङ्गा नगरपालिका वडा नम्बर ८, बोडगाउँमा मालपोत तथा नापी कार्यालय उद्‌घाटन हुने भएको छ । भोलि, फागुन ४ गते आइतबार बिहान १० बजे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कार्यालय उद्‌घाटन गर्ने जनाइएको छ।

वडा अध्यक्ष बाबुराम अर्यालका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ, र स्थानीयबासी लाई कार्यक्रममा सहभागी भई स्वागत गर्न अनुरोध गरिएको छ। उनले केही सञ्चारमाध्यममा आएका गलत खबरहरूको खण्डन गर्दै मालपोत तथा नापी कार्यालय तोकिएको समयमा नै उद्‌घाटन हुने स्पष्ट पारेका छन् । साथै, गलत समाचार नफैलाउन मिडियालाई आग्रह गरेका छन् ।

बाणगङ्गा नगरपालिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको वडा नम्बर ८, बोडगाउँ विकासका हिसाबले केही पछाडि परेको मानिन्छ । यहाँ मालपोत तथा नापी कार्यालय स्थापनाको निर्णयले ढिलै भए पनि स्थानीय जनताले न्याय पाएको अनुभूति गरेका छन् । यस कार्यालयले जग्गा अभिलेख, दाखिला खारेज, नक्साङ्कन, नामसारी, भूमिसम्बन्धी कागजात प्रमाणीकरण जस्ता कार्यहरू सहज बनाउने अपेक्षा गरिएको छ । स्थानीय नागरिकहरूले यस निर्णयलाई स्वागत गर्दै नयाँ कार्यालयबाट छिटो, छरितो र पारदर्शी सेवा प्रवाहको आशा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्