प्रहरी आफै लेखिदिन्छन् पीडितको निवेदन


पालिका पत्र

६ फाल्गुन २०८१, मंगलवार १७:२६ मा प्रकाशित

कपिलवस्तु, फागुन ६ गते । छिमेकीको कुटपिटबाट घाइते यशोधरा ३ का संजय कोहार आर्थिक रुपमा पनि विपन्न थिए । पिडक विरुद्ध निवेदन लेखाउने रकम समेत नभएपछि उनी जिल्ला प्रहरी कार्यालयमा गई मौखिक जानकारी गराए । लगत्तै प्रहरी आफैले घटनाको पूर्ण व्यहोरा अनुसार संजयको जाहेरी निवेदन लेखिदिए र दर्ता पनि गरेर कारवाही प्रकृया अघि बढाए ।

विगत ३ महिना यता जिल्ला प्रहरी कार्यालयले कार्यालयमा आएका पीडितहरुको निःशुल्क निवेदन लेखिदिन थालेका छन् । जसको लाभ आर्थिक रुपमा विपन्न रहेका संजय जस्ता सयौ पीडितहरुले लिइरहेका छन् । विभिन्न फौजदारी, दुनियावादी तथा देवानी विषयका घटनाको जाहेरी निवेदनमै पीडितले ५ सय देखि १ हजार रुपैया सम्म निवेदन लेखाएबापत दिदै आएका छन् । तर आर्थिक रुपमा विपन्न रहेका पीडितहरुका लागि भने प्रहरीले आफै जाहेरी लेखिदिन थालेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको नौलो अभ्यासले पीडितको पीडामा केहि भएपनि राहत महसुस गराएको देखिन्छ । प्रहरी उपरिक्षक निरन्जनदत्त भट्टले जिल्ला प्रहरी कार्यालयमा मात्र नभई मातहतका सबै प्रहरी कार्यालयमा निःशुल्क निवेदन लेखिदिन थालेकाे बताए । ‘एक त घटनाबाट पीडित, त्यसमाथि आर्थिक अवस्था कमजोर भएकालाई थप पीडित नबनाउन र प्रहरी मेरो साथीको भावनालाई बढावा दिनका लागि यो प्रयास सुरु गरेका हौ’ उपरिक्षक भट्टले भने ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले सम्म जिल्ला तथा अन्य ईलाका प्रहरी कार्यालय गरि १ सय १५ जना पीडितको निवेदन जाहेरी लेखिएको छ । प्रहरी प्रवक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार यस सुविधाबाट सबै भन्दा बढि अशिक्षित, उत्पीडित तथा विपन्न समुदाय र महिलाहरु बढि लाभान्वित भएका छन् ।

“घटना बारे विस्तृत जानकारी लिएर आर्कषित हुने कानुन अनुसार जाहेरी लेखिदिदा घटना अन्यत्र नमोडिने र अनुसन्धानमा समेत सहज बन्दै गएको छ” डिएसपी अधिकारीले भने ।

सामान्य देखि गम्भिर प्रकृतिका निवेदन जाहेरी प्रहरीले कानून सम्मत लेखिदिदा समेत पीडितहरु यसबारे अनभिज्ञ हुदा अधिकांश सेवाग्राही लाभबाट बञ्चित रहेको डिएसपी अधिकारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्