राजनैतिक दल र जनप्रतिनिधीलाई नछोएको प्रजातन्त्र : कर्मचारीहरुले प्रभातफेरी र फलफुल बितरण गर्दै दिवस मनाए


पालिका पत्र

७ फाल्गुन २०८१, बुधबार २१:५१ मा प्रकाशित

फागुन ७ गते । बिक्रम सम्वत् २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रजातन्त्र दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो ।

यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ । दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिन्छ ।

यसैबीच, प्रजातन्त्र दिवसको अवसरमा कपिलवस्तुमा प्रभातफेरी निकालेर ७५ औं प्रजातन्त्र दिवस मनाइएको छ । जिल्ला मूल समारोह समितिको आयोजनामा प्रभातफेरी आयोजना गरेर प्रजातन्त्र दिवस मनाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले जनाए । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको परिसरबाट सुरु भएको प्रभातफेरी तौलिहवा बजारमा परिक्रमा गरेर प्रजातन्त्र दिवस मनाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

प्रभात फेरीमा प्रजिअ अर्याल सहीत जिल्ला सुरक्षा समितिका प्रमुखहरु, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र बिद्यालयका शिक्षक र बिद्यार्थी लगायतको सहभागीता थियो । प्रभातफरी पछि प्रजिअ अर्यालले शुभकामना मन्तब्य दिएका थिए ।

यस्तै दिवसकै अवसरमा कपिलवस्तु अस्पतालका बिरामीहरुलाई फलफुल समेत बितरण गरिएको थियो । अस्पतालमा भर्ना भएका दुई दर्जन बढी बिरामीहरुलाई प्रजिअ अर्याल सहीतको टोलीले फलफुल बाँडेका थिए ।

दिवसकै अवसर पारेर बहिरा बालबालिकाहरुलाई स्कुल व्याग वितरण गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना र सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक समन्वयमा श्री तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत २७ जना विद्यार्थीहरुलाई सो व्याग वितरण गरिएको हो ।

समन्वय समितिका प्रमुख बाबुराम आचार्य, उपप्रमुख रमेश कुर्मी, प्रमुख जिल्ला अधिकारी अर्याल, जिल्ला समन्वय अधिकारी जर्नादन अधिकारी, शाखा अधिकृत पुनम जि.सी., ईन्जिनियर आरती भट्ट, सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख रामकरण पाल र अधिकृत तिलकराम पौडेलले सामुहिक रुपमा विद्यार्थीहरुलाई व्याग वितरण गरेका थिए ।

यता, कार्यक्रममा कुनै पनि जनप्रतिनिधि र राजनीतिक दलका नेता र कार्यकर्ता सहभागी थिएनन । कर्मचारी, सुरक्षाकर्मीलाई मात्र प्रजातन्त्र दिवस लागेको रहेछ भन्ने कार्यक्रममा सहभागीहरुले चर्चापरिचर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्