‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान कपिलवस्तुमा शुरु


९ फाल्गुन २०८१, शुक्रबार १९:५४ मा प्रकाशित

फागुन ९ गते । सामुदायिक विद्यालयको गुणस्तर सुधार्न ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान कपिलवस्तुमा शुक्रबारदेखि सुरु भएको छ । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले आफूले अध्ययन गरेको कपिलवस्तुको शिवराज नगरपालिका स्थित नेपाल आदर्श माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गरेका हुन् ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु गरिएको छ । पूर्व विद्यार्थिको तर्फबाट सभामुख घर्तीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन जनस्तरमा उत्तरदायित्व अभिवृद्धि होस् भन्नका लागि यो अभियानको थालनी गरिएको बताए । सामुदायिक विद्यालयलाई नमुना बनाउन यो अभियान कोशेढुंगा सावित हुने उनले बिश्वास समेत ब्यक्त गरे ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको मनोबल उच्च बनाउन मेरो विद्यालय मेरो दायित्व अभियानले सहयोग गर्ने समेत उनले उल्लेख गरे । यो विद्यालयमा सभामुख घर्तीले आधारभूत तहको शिक्षा आर्जन गरेका थिए ।

यसैबीच, प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सामुदायिक बिद्यालयको शैक्षिक, भौतिक बिकासका लागि बिशिष्टीकृत अभियानका रुपमा अघि लैजानुपर्ने बताए ।

शिवराज नगरपालिकाका प्रमुख अजय थापाले राज्यले शिक्षालाई गम्भिरतापूर्वक नलिए सम्म शैक्षिक क्षेत्रको सुधार नहुने बताए । सबैले सामुदायिक बिद्यालयमा पढाउनु पर्छ भन्ने अभियानको सुरुवात गरेमात्र शिक्षाक्षेत्र सुधार सँगै बिकास हुने थापाले बताए ।

लुम्बिनी प्रदेशभित्रका एकसाथ १७ वटा विद्यालयबाट अभियानको सुभारम्भ गरिएको सामाजिक बिकास मन्त्रालयका अधिकृत सम्झना सुवेदीले जनाइन् । ७१ प्रतिशत बालबालिकाको रोजाइ बन्न सफल सामुदायिक विद्यालयप्रति अझै भरोसा र विश्वास बढाउन आवश्यक रहेको उनको भनाई छ ।

सार्वजनिक बिद्यालयको शाख र गरिमालाई कायम गर्न सबै सरोकारवालाको सामुदायिक विद्यालयप्रतिको जवाफदेहीता वृद्धि गर्न प्रदेश सरकारको नीति कार्यक्रममा मेरो विद्यालय मेरो दायित्व सामाजिक अभियान समावेश थियो । यो अभियानमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने लक्ष्य राखिएको छ ।

माध्यमिक शिक्षा परीक्षाको नतिजाले लुम्बिनी प्रदेशमा सुधारको आवश्यकता देखाएअनुसार अभियान थालिएको छ । अभियानमार्फत् विद्यालय व्यवस्थापन, सामाजिक जागरुकता, आर्थिक स्रोत परिचालन, भौतिक सुधार तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विभिन्न गतिविधि सञ्चालन गरिनेछ । यस अभियानअन्तर्गत शिक्षाबाट बञ्चित वर्गलाई मूलधारमा ल्याउन आर्थिक तथा भौतिक सहयोग जुटाइनेछ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रमान केसीको अध्यक्षता तथा सभामुख तुलाराम घर्तीमगरको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा पूर्व प्रधानाध्यापकहरु, पूर्व विद्यार्थीहरु, शिक्षा बिकास तथा समन्वय इकाइ कपिलवस्तुका प्रमुख लोकनाथ मरासिनी, बिभिन्न राजनैतिक दलका प्रतिनिधी, अभिभावक, बिद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्