
बाणगंगा, १५ फागुन । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मा स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले ३० दिने सीपमूलक तालिम सञ्चालन भइरहेको छ । मधुवन सामुदायिक बन उपभोक्ता समूहको आयोजनामा सुरु भएको यो तालिम फागुन १५ गतेदेखि चैत १५ गतेसम्म सञ्चालन हुनेछ ।
तालिममा प्राकृतिक रेशा जन्य वनस्पतिका पात तथा मकैका खोस्टाबाट हस्तकलाका विभिन्न सामग्री उत्पादन गर्ने सीप प्रदान गरिन्छ। उद्घाटन समारोहमा उप–प्रमुख रिता कुमारी चौधरीले स्थानीय स्रोतसाधनको उचित उपयोग गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउन तालिम महत्वपूर्ण हुने बताइन् ।
सब डिभिजन वन कार्यालय मोतिपुरका प्रमुख एजाज अन्सारीले प्राकृतिक स्रोतको सही सदुपयोग गर्दै आर्थिक उन्नतितर्फ उन्मुख हुन यस्तो तालिम फलदायी हुने बताए । वडा सदस्य शैलेन्द्र बेल्बासेले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने आवश्यकतामा जोड दिए ।
तालिमलाई ओम राजश्री मल्टी एग्रो प्रा. लि. ले प्राविधिक सहयोग गरिरहेको छ । कम्पनीका सञ्चालक युवराज गैरेले तालिममा उत्पादित सबै सामग्री खरिद गर्ने प्रतिबद्धता जनाउँदै, यसले महिला उद्यमी उत्पादनमा टेवा पुग्ने जानकारी गराए ।
मधुवन सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष शान्त बिक्रम पौडेलले वन स्रोतको सदुपयोग गर्दै व्यावसायिक उत्पादनमा जोड दिनुपर्ने बताए । सहभागी महिलाहरूले यो तालिम आर्थिक रूपमा आत्मनिर्भर बन्न महत्वपूर्ण अवसर रहेको भन्दै उत्साह प्रकट गरेका छन् ।
तालिम मधुवन सामुदायिक बन उपभोक्ता समूहको सभाहलमा सञ्चालन भइरहेको छ । कुल ३ लाख ४९ हजार रुपैयाँ लागतमा सम्झौता भई सुरु भएको तालिममा २२ जना महिला सहभागी छन् ।