हिमालयन सेर्पालाई हराउँदै मछिन्द्र क्लब अन्तिम चारमा


पालिका पत्र

१५ फाल्गुन २०८१, बिहीबार १९:०६ मा प्रकाशित

कपिलवस्तु, १५ फागुन – मछिन्द्र क्लब दोस्रो मुख्यमन्त्री कपिलवस्तु (तिलौराकोट) गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको रोमाञ्चक खेलमा हिमालयन सेर्पालाई टाईब्रेकरमा ३–० को अन्तरले पराजित गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित ९० मिनेटको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्न सकेनन्, जसका कारण खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा मछिन्द्रका असिम गुरुङ, पूजन श्रेष्ठ र कप्तान सौरभ सुब्बाले गोल गर्दै टिमलाई सेमिफाइनलमा पुर्‍याए । खेलमा नायक बनेका गोलरक्षक सन्तोष महतले हिमालयन सेर्पाका तीनै प्रहार रोक्दै उत्कृष्ट प्रदर्शन गरे ।

अब मछिन्द्रले फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लब र डिजोन्जी एफसी (सिक्किम) बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि, प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कपिलवस्तु ११ सङ्कटा क्लबसँग पराजित भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको भए पनि दोस्रो हाफको अन्तिम २ मिनेटमा उत्तम शाहीले निर्णायक गोल गर्दै सङ्कटालाई जित दिलाए । उत्कृष्ट प्रदर्शन गरेका शाही ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत शुक्रबार थ्रीस्टार क्लब र अघिल्लो संस्करणको विजेता हनामी विएफसी चितवनबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्