
फागुन १७ गते । कपिलवस्तुको शिवराज नगरपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिका बिच सिमा तथा नदीजन्य पदार्थको निकासीमा समस्या देखिएको छ । सुकबेल खोलाको नदीजन्य पदार्थ निकासीमा विवाद देखिएपछि शिवराज-शितगंगा नगरबीच अहिले आपसी टकराव पैदा भएको हो ।
विवाद समाधानका निम्ती दुवै जिल्लाका समन्वय समितिका प्रमुख, नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सहित विभिन्न सरोकारवालाहरूको उपस्थितिमा सुकवेल खोलाको सीमा तथा नदीजन्य पदार्थको निकासीसम्बन्धी विवादको समाधानका लागि छलफल समेत भएको छ ।
बैठकमा शिवराज नगरपालिकाका प्रमुख अजय थापाले वन कार्यालयले सीमाना स्पष्ट नगरेको जिकिर गरेका छन् । उनले शितगंगा नगरपालिकाले सीमाना मिचेर ढुंगा गिट्टी निकालेको आरोप लगाएका छन् । उनका अनुसार, शितगंगाले ठेक्का लगाई कपिलवस्तुको बाटो हुँदै नदीजन्य पदार्थको निकासी गर्दा स्थानीयले विरोध जनाएका छन् । सुकवेल खोला शिवराज नगरको आफ्नै सम्पत्ति रहेको दाबी थापाको छ ।
त्यसैगरी, शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले सुकवेल खोलामा सीमा विवाद रहेको बताए । सामुदायिक वनले समेत निकासा रोक्का गर्ने मुद्दा दायर गरेको जानकारीमा आएको बताए ।
शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले सुकवेल खोलामा आफ्नो पालिकाले ठेक्का लगाइसकेको जानकारी दिए । उनले थपे, “सुकवेल खोलामा ढुंगागिट्टी निकासाका लागि शितगंगा नगरपालिकाले ठेक्का लगाइसकेको छ । जमानादेखि ठेक्का लगाउँदै आएको छ, अहिले शिवराज नगरपालिकाले निहुँ खोजिरहेको छ ।“
गत मंगलबार दुईपालिकाको बीचमा देखिएको समस्या समाधानका लागि उच्चस्तरीय बैठक तथा छलफल समेत चन्द्रौटामा गरिएको थियो । यद्यपि, दुबै जिल्लाका प्रतिनिधीहरुले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष आफ्ना समस्याहरु राखेका थिए ।
बैठकमा सहभागी कपिलवस्तु जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले वनसँगको विवाद देखिएको औंल्याउँदै मुख्यमन्त्रीले दुवैतिरको ठेक्का सम्झौता लगाएर काम गर्न निर्देशन दिएको बताए ।
उता, अर्घाखाँची जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाका अनुसार प्रत्येक वर्ष सुकवेल खोलामा शितगंगाले ठेक्का लगाउने गरेको भएता पनि यसपटक नदीजन्य पदार्थ उठाउँदै आएको थियो । “वनसँग आपसी समझदारीमा ठेक्का लगाउने गरिएको थियो,“ उनले भने । “मुख्यमन्त्रीले पालिकाले आईई (वातावरणीय प्रभाव मूल्यांकन) गरिसकेको तर वनले नगरेकोले दुवै पक्ष मिलेर काम गर्न निर्देशन दिनुभएको छ ।“
डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले नगरपालिकाले माथिल्लो क्षेत्रमा ठेक्का लगाइरहेको तर सोही खोलाको तल्लो क्षेत्रमा शिवराज नगरपालिकाले आईई गर्ने तयारी गरेको र यससम्बन्धी छलफल निरन्तर भइरहेको बताए ।
डिभिजन वन कार्यालय कपिलवस्तु गौतमबुद्धका निमित्त प्रमुख प्रदिप चौधरीले सुकवेल खोलामा विवाद रहेको उल्लेख गर्दै सीमा विवादका सवालमा वन कार्यालयमार्फत कुनै कार्य गर्ने क्षेत्राधिकार नभएको जनाए । “यो बिशुद्ध राजनैतिक सवाल हो, छलफल मार्फत निकास निकाल्न जरुरी छ,“ उनले भने । उनले सीमा विवादका लागि कार्यालयबाट प्राविधिक टोलीको गठन गरेर छिट्टै प्रतिवेदन तयार पार्ने बताए ।
नक्सामा सुकवेल खोला कपिलवस्तुमा रहेको देखिए पनि हाल शितगंगाले ठेक्का लगाएको क्षेत्रमा समस्या देखिएको पाइएको छ । वन मन्त्रालयका सचिव समक्ष मुख्यमन्त्री आचार्यले छलफल गरेर समस्या समाधान गर्ने तयारीमा रहेको जनाइएको छ ।
बैठकमा जिल्ला समन्वय प्रमुख कपिलवस्तुका बाबुराम आचार्य, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, शिवराज नगर प्रमुख अजय थापा, शितगंगा नगर प्रमुख छविलाल पौडेल, शितगंगा उपप्रमुख गीता भाट, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर जिसी, अर्घाखाँचीका डिभिजन वन प्रमुख मोहन श्रेष्ठ, पुर्व नगर प्रमुख नेत्रराज अधिकारी लगायत वडा अध्यक्ष र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।




