
बाणगंगा, फागुन १९ । कपिलवस्तु जिल्लाका तीन पालिकाका महिलाहरूका लागि सुरक्षित गर्भपतन सेवा निःशुल्क प्रदान गरिने भएको छ । तौलिहवास्थित मेरी स्टोप्स क्लिनिकमार्फत कपिलवस्तु नगरपालिका, मायादेवी गाउँपालिका, र यशोधरा गाउँपालिकाका महिलाहरूलाई यो सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले मेरी स्टोप्स क्लिनिकमा सेवाको औपचारिक उद्घाटन गरेका छन् । उनले अवैधानिक तरिकाले वा गलत औषधी सेवन गरी गर्भपतन गराउँदा महिलाहरूको जीवन जोखिममा पर्ने भएकाले सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिएको बताए ।
मेयर पौडेलका अनुसार, अनिच्छित गर्भका सन्दर्भमा कानूनी प्रावधान र तोकिएको मापदण्डअनुसार महिलाहरूले यो सेवा प्राप्त गर्न सक्नेछन् । उनले महिलाहरूलाई सुरक्षित र सही तरिकाले सेवा लिन आग्रह समेत गरे ।
मेरी स्टोप्स तौलिहवाका प्रमुख मनिराम पाण्डेयका अनुसार, १२ हप्तासम्मको गर्भका लागि कानूनी मापदण्डअनुसार सुरक्षित गर्भपतन सेवा निःशुल्क प्रदान गरिनेछ । स्थानीय पालिकासँगको सहकार्यमा प्रति गर्भपतन ८०० रुपैयाँको लागत वहन गरिने व्यवस्था गरिएको छ ।
पाण्डेयले गर्भपतन सेवासम्बन्धी सम्पूर्ण विवरण कोड प्रणालीमार्फत सुरक्षित राखिने र सेवाग्राहीको गोपनीयता पूर्ण रूपमा जोगाइने जानकारी दिए । साथै, जिल्लाका विभिन्न औषधि पसलहरूमा अवैध रूपमा गर्भपतनका औषधि बिक्री हुने प्रवृत्तिले महिलाहरूको स्वास्थ्य जोखिम बढाएको समेत उनले बताए ।
खुला सिमानाका कारण भारततर्फ जाने महिलाहरू झारफुकजस्ता अवैज्ञानिक विधिहरूमा भर पर्ने हुँदा ज्यान गुमाउने घटनाहरूसमेत देखिएको पाण्डेयले उल्लेख गरे । सुरक्षित गर्भपतन सेवा निःशुल्क भएपछि महिलाहरूलाई सहज सेवा प्राप्त हुने र यसले सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ। तौलिहवा शाखाबाट वार्षिक करिब ६०० महिलाले सुरक्षित गर्भपतन सेवा लिने गरेको समेत उनले जानकारी दिए ।