
कपिलवस्तु – थ्रीस्टार एफसी ललितपुर दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा संकट एफसीलाई १–० गोलले पराजित गर्दै थ्रीस्टारले उपाधि नजिकको यात्रा तय गरेको हो ।
खेलको पहिलो हाफमा दुबै टोलीले गोलका अवसर सिर्जना गरे पनि कुनै पनि टिमले गोल गर्न सकेनन्। खेलको दोस्रो हाफमा थ्रीस्टारका मुकुन्द कुमार निउरीले ७७ औं मिनेटमा निर्णायक गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। संकटाले खेल बराबरीमा ल्याउने प्रयास गरे पनि अवसरलाई गोलमा परिणत गर्न असफल रह्यो ।
थ्रीस्टारका कप्तान सुवित कार्की खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
दोस्रो सेमिफाइनल खेल सोमबार दिउँसो ३ बजे मछिन्द्र एफसी र जोङ्ग्री एफसी सिक्किमबीच हुने खेल संयोजक सुसिल सिंह ठकुरीले जानकारी दिए ।
प्रतियोगिताको विजेता टोलीले ११ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा फागुन १४ गतेदेखि सुरु भएको यो प्रतियोगिता फागुन २१ गते सम्पन्न हुनेछ ।