एउटा करार कर्मचारी ३ वटा शाखाको प्रमुख


पालिका पत्र

१९ फाल्गुन २०८१, सोमबार ०८:३५ मा प्रकाशित


कपिलवस्तु, फागुन १९ ।
एउटा करार कर्मचारीले सिंगै गाउँपालिका चलाएको भन्दा अचम्म लाग्छ । तर २ बर्ष अघि मात्र करारमा भर्ना भएका एक कर्मचारीले सिंगो पालिका हल्लाएका मात्र छैनन् पालिका अध्यक्षको आड्मा चरम वेथिती समेत गरिरहेका छन् । जिल्लामा सधै विवादित तथा अख्तियारमा धेरै उजुरी र छानबिन हुने यशोधरा गाउँपालिकामा वेथितीका नमूनाहरु देख्न पाइन्छ । एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष शिवदयाल तिवारीको आडमा करार कर्मचारी दृग नारायण मिश्रालाई ३ वटा महत्वपूर्ण शाखाको प्रमुख बनाइएको छ । पालिकामा हाल कार्यरत ११५ जना स्थायी कर्मचारी तथा करार तथा अन्य गरि कुल १७२ जना कर्मचारी कार्यरत रहेका छन् । जिम्मेवार कर्मचारी हुदाहुदै मिश्रालाई पालिका अध्यक्षको दबाबमा ३ वटा शाखाको प्रमुखको जिम्मेवारी दिइएको कर्मचारीहरुको दाबी छ ।


लुम्बिनी प्रदेश सरकारले साझेदारी कार्यक्रममा यशोधरा गाउँपालिकामा संचालित १५ महिने नवप्रर्वतन साझेदारी कोष कार्यक्रमको संयोजकको रुपमा मिश्रा २०७९ असारमा भर्ना भएका थिए । गत आ।ब।मै कार्यक्रम सक्किएको छ । कार्यक्रमको प्रभावकारितमा प्रश्न उठेपछि प्रदेश सरकारले म्याद नथपेको उक्त कार्यक्रम पालिका अध्यक्षको दबाबमा गाउँसभाबाटै आन्तरिक कोषबाट खर्च गर्ने गरि २५ लाख बजेट विनियोजन गरि मिश्राकै लागि कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

यसै गरि पालिकाकै महत्वपूर्ण मानिने शिक्षा यूवा तथा खेलकूद शाखा प्रमुख समेत करार कर्मचारी मिश्रालाई बनाईएको छ । ४० वटा सामुदायिक तथा धार्मिक विद्यालयको शैक्षिक अवस्था सुधार देखि युवाहरुको स्वरोजगार मूलक कार्यक्रम र खेलकूद क्षेत्रको महत्वपूर्ण जिम्मेवारी करार कर्मचारीलाई दिइएपछि पालिकाका कर्मचारी तथा विद्यालयका शिक्षकहरु आक्रोशित बनेका छन् । सबै भन्दा बढि बजेट चलखेल हुने उक्त शाखा संयोजक बनेदेखि नै मिश्राले विद्यालय शैक्षिक तथा खेलकुद क्षेत्रमा जर्बजस्ती गर्दै आएका छन् । सार्र्वजनिक खरिद ऐन मिचेर आफुखुशी खरिद गर्ने, सम्बन्धित निकायलाई पसल र व्यापारी तोकेर काम दिन बाध्य पार्ने र भनेको नमाने पालिका अनुदान रोक्ने जस्ता क्रियाकलाप गरेको बताइन्छ ।


स्थानीय सरकार संचालन ऐनको धज्जी उडाउदै यशोधरा गाउँपालिकाले रोजगार संयोजकको समेत जिम्मेवारी मिश्रालाई नै दिएको छ । कार्तिक देखि रिक्त रहेको रोजगार संयोजकको जिम्मेवारी समेत पालिकाले मिश्रालाई दिएपछि कर्मचारी क्षेत्रमा तिब्र असन्तुष्टि बढ्दै गएको छ । “मिश्राले ३ वटा शाखा त कब्जा गरेकै छन् योजना, कर्मचारी प्रशासन र लेखामा समेत हस्तक्षेप गर्दै आएका छन्” एक स्थायी कर्मचारीले नाम नखुलाउने शर्तमा भने । “पालिका अध्यक्षको पूर्ण सर्मथन छ, हाकिम केहि बोल्दैनन् काम गर्ने बातावरण छैन” उनले भने । मिश्राकै दबाबमा पालिकाका ८ वटा वडा सचिवलाई माघ २८ गते एकै दिन अन्तर वडा सरुवा गरिएको थियो । जसका कारण १ महिना यता वडाहरुको कामकाज समेत प्रभावित बनेको छ । “आवश्यक्ताको आधारमा सरुवा गर्नु ठीक हो तर विना आधार, हचुवामा कमिशन दिएन भन्दै एउटा करार कर्मचारीको दबाबमा सरुवा गर्नु उचित होइन एक” वडा सचिवले भने । मिश्राले गम्भीर प्रकारका टिप्पणीहरु समेत उठान गरि सहि गर्ने गरेको जुन एन नियम विपरित रहेको कर्मचारीहरु बताउछन् ।


अधिकृत स्तरका स्थायी कर्मचारी हुदाहुदै ३ वटा शाखा प्रमुखको जिम्मेवारी दिनुमा पालिका अध्यक्ष जिम्मेवार रहेको प्रमुख प्रशासकिय अधिकृत ऋषभदेव खनालको भनाई छ । “अध्यक्ष ज्यूको निर्देशनमा मैले जिम्मेवारी प्रदान गरेको हु” उनले भने । यस सम्बन्धमा पालिका अध्यक्ष शिवदयाल तिवारीले कर्मचारी अभावले जिम्मेवारी दिन बाध्य भएको बताए । “काम गर्ने कर्मचारी अभाव छ त्यहि भएर जिम्मा लगाएको हो, त्यस्तो केहि होइन” उनले भने । मिश्रा विरुद्ध पालिका भित्रकै कर्मचारीहरुले समेत दर्जन बढि उजुरी अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा हालेका छन् भने केहिको छानबिन समेत भइरहेको छ । निजामती कर्मचारी प्रशासन ऐन, स्थानीय तह संचालन ऐन तथा सार्वजनिक खरिद ऐन विपरित दिइएको जिम्मेवारीले पालिकामा चरम वेथिती बढाएको पूर्व जनप्रतिनिधिहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्