यशोधराको नवप्रर्वतन कार्यक्रम : भ्रष्टाचारको पराकाष्ठा !


पालिका पत्र

२८ फाल्गुन २०८१, बुधबार ०९:०५ मा प्रकाशित

कपिलवस्तु, फागुन २८ । कपिलवस्तुको यशोधरा गाउँपालिकामा लुम्बिनी प्रदेश सरकारले लागू गरेको नवप्रर्वतन कार्यक्रममा चरम भ्रष्टाचार र वेथिती देखिएको छ । आयश्रोत कम भएका तथा शिक्षाको स्तर न्यून भएका स्थानीय तहलाई लक्षित गरि संचालन गरिएको नवप्रर्वतन साझेदारी कोष कार्यक्रम पूर्णत असफल देखिएको छ ।

प्रदेश सरकारको १ करोड ५० लाख र गाउँपालिकाको ५० लाख गरि २ करोडको लागतमा गरिएको कार्यक्रम पालिकाकै लापरवाहीका कारण अलपत्र बनेको छ । सुशासन तथा विकासका लागि सूचना प्रर्बद्धन तथा जिविकोपार्जन कार्यक्रम २०७९ वैशाखबाट संचालनमा आएको थियो ।

गाउँपालिका अध्यक्षको दबाबमा छनौट प्रकृयाको आवरणमा सेटिङ्ग गरि दृग नारायण मिश्रा उक्त कार्यक्रम संयोजक बनाएपछि नै कार्यक्रम उद्धेश्य विपरित ओरालो लाग्दै गएको थियो । सुशासनको नारा दिएको कार्यक्रममा चरम आर्थिक अनियमितता गरि डिजिटल सामाग्रीहरु खरिद गर्ने, प्रकृयाका नाममा कर्मचारी भर्ना गर्ने तथा आफ्ना कार्यकर्ता जुटाएर आयआर्जन समूह बनाई उक्त २ करोड रकमको चरम दुरुपयोग भएको छ ।

असफल कार्यक्रमलाई बजेट : पूर्ण रुपमा भ्रष्टाचारले असफल बनेका यशोधरा गाउँपालिकाको नवप्रर्वतन कार्यक्रममा पालिकाले चालु आ.ब.मा पनि बजेट विनियोजन गरेर निरन्तरता दिएको छ । शिक्षा, युवा खेलकूद, रोजगार कार्यक्रमहरुको संयोजक रहेका तहविहिन करार कर्मचारी दृगनारायण मिश्रालाई पालिका भित्रै टिकाइराख्न पालिका अध्यक्ष शिवदयाल तिवारीको दबाबमा गाउँसभाबाटै बजेट विनियोजन गरि कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

वडाका केहि सामुदायिक तथा धार्मिक विद्यालयमा फर्निचर अभाव भइरहदा आफ्ना ३ जना कार्यकर्ताहरुलाई तलब खुवाउनकै लागि असफल कार्यक्रमलाई निरन्तरता दिदा सिंगो कार्यपालिका आलोचित बन्दै गएको छ ।

सबै वडामा डिजिटल सेवा बन्द : गाउँपालिका भित्रका ८ वटै वडामा डिजिटल सेवा दिने भन्दै बजेट खन्यइएको डिजिटल सेवा कुनै पनि वडामा संचालनमा छैन । नवप्रर्वतन कार्यक्रममा डिजिटल सेवाकै लागि १५ महिनामा १ करोड ४ लाख रकम खर्च गरिएको थियो । जसमा ७० लाख भन्दा बढिको डिजिटल उपकरणहरु मात्र खरिद गरिएको छ भने ६ लाख रकम डिजिटल सेवा तालिमका लागि खर्च गरिएको छ ।

पालिकाले चालु आ.ब.मै समेत २५ लाख रुपैया विनियोजन गरि नवप्रर्वतन कार्यक्रम संचालन गरिहेको अवस्थामा वडाका ८ वटै सेवा केन्द्रहरु बन्द अवस्थामा छन् ।

जिविकोपार्जन कार्यक्रम अलपत्र : नवप्रर्वतन कार्यक्रम अन्र्तगत पालिकाले वडा नम्बर ४ सेमरीमा इन्टरलक इट्टा निर्माण तथा वडा नम्बर ८ खोरियामा बगरे खेती बाट आयआर्जन कार्यक्रम संचालन गरेको थियो । जसका लागि उक्त कार्यक्रमबाट ६५ लाख रुपैया खर्च गरिएको थियो ।

उक्त कार्यक्रम अन्र्तगत सेमरीमा रहेको इन्टरलक उद्योग जीर्ण तथा अलपत्र बनेको छ । इट्टा बनाउन मात्रै १ हप्ताको तालिममा ६ लाख रुपैया खर्च गरिएको थियो भने १० लाखको मिक्चर मेशिन तथा मोटर र भौतिक संरचनाहरु बनाइएको थियो । अहिले ति सबै जीर्ण बनेका छन् भने समूहका अध्यक्ष हरेन्द्र चौधरी लगायतका समूह समेत निष्क्रिय छन् ।

यसै गरि खोरियाको बगरे तरकारी खेती समूह समेत निष्क्रिय बनेको छ । तौलेश्वर यादव अध्यक्ष रहेको उक्त समूहले बगरमा बार्षिक ३५ हजार भाडा तिरेर तरकारी खेती गरेका थिए । जसका लागि पालिकाले उक्त कार्यक्रमबाट १९ लाख रुपैया सहयोग भएको थियो ।

नव प्रर्वतन कार्यक्रम अलपत्र पर्नुमा कार्यक्रम संयोजक दृगनारायण मिश्राको ठूलो गैर जिम्मेवारीपना रहेको पालिकाकै जनप्रतिनिधी तथा कर्मचारीको आरोप छ । नवप्रर्वतन कार्यक्रम बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा समेत दर्जनौ उजुरीहरु परेको बताइन्छ । यस सम्बन्धमा उक्त कार्यक्रमका संयोजक दृग नारायण मिश्रा (मोहित) संग बुझ्न खोज्दा लिखित रुपमा जानकारी माग गरे मात्र जवाफ दिने भन्दै तर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्