
चैत्र १ गते । ऐतिहासिक तथा पुरातात्विक बुद्धस्थल निग्रोधाराम (कुदान)मा बुद्धाज् डे उत्सव मनाइएको छ । बौद्ध धर्मावलम्बीको आस्था र महत्वपूर्ण स्थल निग्रोधारामको पवित्रता उजागर गरी पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बिहीबार उत्सव मनाइएको हो ।
थेरबाद र महायानी परम्परा अनुसार भिक्षु, लामागुरुले च्यान्टिङ गरी उत्सव उद्घाटन गरेका हुन् । रेडियो टुरिजम र गच्छामि मिडिया ग्रुपद्वारा आयोजित उत्सवका प्रमुख अतिथि अखिल नेपाल भिक्षु महासंघका पूर्वअध्यक्ष भिक्षु मैत्री महास्थवीरले बुद्धले बुद्धत्व प्राप्त गरेपछि आफ्ना मातापितालाई पहिलो पटक भेट्न राजधानी आउँदाको खुसीयाली क्षण स्मरण गर्न आयोजित उत्सव भिक्षु भिक्षुणीका लागि निकै महत्वपूर्ण भएको बताए ।
‘यसलाई बिस्तारै स्थापित पर्यटकीय गन्तब्य बनाउने तर्फ लाग्नु पर्नेछ,’ उनले भने, ‘सबैलाई दया, माया, करुणा र आस्था जगाउने ठाउँका रुपमा निग्रोधाराम रहेकाले बौद्ध धर्मावलम्बीका लागि एउटा छुट्टै महत्व छ ।’
कपिलवस्तु नगरपालिका–२, कुदानस्थित निग्रोधाराममा बुद्धले ज्ञानप्राप्त गरेपछि पहिलो पटक राजधानी कपिलवस्तु आउँदा फागुन पूर्णिमाका दिन मातापितासँग निग्रोधाराममा भेटघाट गरेका थिए । उक्त ऐतिहासिक क्षणको महिमा फैलाउन निग्रोधाराम उत्सव (बुद्धाज् डे) गरिएको हो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाँडेकाजीले कपिलवस्तुमा नयाँ पर्यटकीय आकर्षणका धेरै सम्भावना भएकाले त्यसलाई उजागर गर्न निग्रोधाराम उत्सव मनाइएको बताए । उनले भने, “बुद्धले बुद्धत्व प्राप्त गरेपछिको यो क्षण विश्वकै लागि महत्वपूर्ण हो । त्यही खुसियालीको क्षण अनुभूति गर्न उत्सव आयोजना गरिएको हो ।”
कार्यक्रममा कपिलवस्तु नगरपालिका–३ का अध्यक्ष प्रकाश गैरे, वडा नम्बर २ का पूर्वअध्यक्ष रामभजन कलवार, लुम्बिनी विकास कोष परिषद् सदस्य गोपीकृष्ण शर्मा, गच्छामि मिडिया ग्रुप अध्यक्ष मनोज श्रीवास्तव र ग्रुपका निर्देशक खगप्रसाद चापागाईंले निग्रोधाराम उत्सवको महत्वबारे प्रकाश पारेका थिए ।
उत्सवमा मैत्रीभाव र सद्भाव प्रदान गर्न फूल साटासाट गरिएको थियो । साँझ ७७७ वटा द्वीप प्रज्वलन गरिएको थियो । होलीको शुभकामना साटासाट गर्दै अबिर रङ पनि लगाइएको थियो ।
निग्रोधाराममा बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक आफ्ना मातापितासँग भेटघाट गरेका हुन् । त्यहीं श्रीमती यशोधरा र छोरा राहुललाई भिक्षु संघमा सामेल पनि गराइएका थिए ।
ज्ञान प्राप्त गरेपछि राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट) आउन मिल्दैन भनेर दरबारमा सहयोगी मार्फत खबर पठाए । त्यसपछि बाबु शुद्धोदनले छोरा भेट्न निग्रोधाराममा विशाल विहार बनाएका थिए ।





