
अर्घाखाँची, १२ चैत्र – अर्घाखाँचीको पाणिनी गाउँपालिकाबाट हरेक वर्ष सयौं नागरिक स्थायी बसोबास छाडेर अन्यत्र सर्ने गरेका छन्। गाउँपालिकाको तथ्याङ्कअनुसार, २०८० सालको बैशाखदेखि चैत मसान्तसम्म १३१ परिवारका ४४२ जना गाउँ छाडेका छन्, जबकि सोही अवधिमा बसाइँसराइ गरेर आएका ३३ परिवारका मात्र ८४ जना रहेका छन्।
यो प्रवृत्ति २०८१ सालमा पनि निरन्तर देखिएको छ। बैशाखदेखि फागुन मसान्तसम्म १२० परिवारका ४२७ जना गाउँ छाडेका छन् भने बाहिरबाट आएका परिवारको सङ्ख्या १५ मात्र छ, जसअन्तर्गत ३७ जना मात्र गाउँ भित्रिएका छन् ।
गाउँपालिकाले प्रत्येक वर्ष सयौं नागरिकलाई बसाइँसराइका लागि सिफारिस दिने गरे पनि स्थायी समाधानका लागि ठोस योजना ल्याउन नसकेको स्थानीयहरूको गुनासो छ। गाउँ छाड्ने मुख्य कारणहरूमा रोजगारीको अभाव, उच्च शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच नहुनु, र अवसरको खोजीमा विदेश तथा सहरी क्षेत्रमा जाने प्रवृत्ति प्रमुख देखिएको छ ।
पालिकाले कृषिमा आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, र लघु उद्योग विकास जस्ता योजना अघि सारेको छ। तर, ती कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा बसाइँसराइ रोक्न सकिएको छैन। स्थानीय निकायहरूले रोजगारी सिर्जना, पूर्वाधार विकास, र आधारभूत सेवाको विस्तारमा जोड दिए मात्र बसाइँसराइ न्यूनीकरण गर्न सकिने सरोकारवालाहरू बताउँछन्।