तिलोत्तमा नगरपालिकाको फोहोर व्यवस्थापन मोडेल: अन्य नगरपालिकाका लागि उदाहरण


पालिका पत्र

११ चैत्र २०८१, मंगलवार २०:५९ मा प्रकाशित

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्रभावकारी फोहोर व्यवस्थापन गर्दै आएको छ । जिल्लाका अन्य स्थानीय तहहरू फोहोर व्यवस्थापनमा समस्यामा परिरहेका बेला तिलोत्तमाले भने नवीन सोच, प्रविधि र सहकार्यको माध्यमबाट सफल मोडेल निर्माण गरेको छ ।

नगरपालिकाले घर, उद्योग तथा प्रतिष्ठानहरूबाट कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्दै आएको छ । यसबाट जैविक मल, पुनः प्रयोगयोग्य सामग्री उत्पादन र ब्रिकेट (दाउरा) बनाउने कार्य भइरहेको छ । यस प्रविधिले नगरपालिकालाई आर्थिक रूपमा समेत फाइदा पुर्याएको छ ।

नगरप्रमुख रामकृष्ण खाणका अनुसार तिलोत्तमाले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल, वास स्वास्थ्य सहकारी संस्था तथा स्थानीय संस्थाहरूसँग सहकार्य गरी फोहोर व्यवस्थापनमा सुधार गरेको छ । नगरपालिकाले अत्याधुनिक मेसिनरी प्रयोग गरी प्रशोधन केन्द्र सञ्चालन गरिरहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालका अनुसार, नगरपालिकाले निजी क्षेत्रसँग साझेदारी गर्दै कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै रुपमा व्यवस्थापन गर्दै आएको छ।

तिलोत्तमाले फोहोर व्यवस्थापनका प्रभावकारी अभ्यासहरू अपनाएको उल्लेख गर्दै अर्यालले भने, “नगरपालिकाले नवीन सोच र योजनाबद्ध ढंगबाट कार्यान्वयन गर्दै आएको छ, जसका कारण अन्य नगरपालिकाहरू पनि सिकाइका लागि यहाँ अध्ययन गर्न आउँछन्। यसले स्थानीय तहको सक्रियता, दिगो व्यवस्थापनको अवधारणा र नवाचारको महत्त्वलाई उजागर गरेको छ।”

१७ वटा वडा रहेको नगरपालिकाले विभिन्न तहमा विभाजन गरी फोहोर व्यवस्थापन गरिरहेको छ । वडा नं. १, ३, ४, ५, ६ को फोहोर सुन्दर नेपालसँग सहकार्यमा, वडा नं. २ को फोहोर स्थानीय उपभोक्ता समितिले, र वडा नं. ७ देखि १७ सम्मको फोहोर जनसहभागिता वास स्वास्थ्य सहकारी संस्थाले व्यवस्थापन गरिरहेको छ ।

नगरपालिकाले महिनाको १ र १५ गते वडास्तरमा सरसफाइ अभियान सञ्चालन गर्दै नागरिकलाई सचेतना फैलाइरहेको छ । हालसम्म १४१ औं श्रृङ्खला सम्पन्न भइसकेको छ । नगरपालिकाबाट दैनिक २० टन फोहोर संकलन भइरहेको छ भने सरसफाइका लागि १२० जनाले रोजगारीसमेत पाएका छन् । तिलोत्तमा नगरपालिकाको यो सफल अभ्यास अन्य स्थानीय तहका लागि उदाहरणीय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्