बाणगंगा नगरपालिकाः १ अर्ब ७६ करोड बराबरको बजेट स्रोत अनुमान


पालिका पत्र

५ बैशाख २०८२, शुक्रबार २२:५७ मा प्रकाशित

बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ। शुक्रबार बसेको उक्त बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै अघिल्लो बैठकका निर्णयहरूको समिक्षा गरेको नगरप्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिएका छन्।

उनका अनुसार, बैठकले अघिल्ला निर्णयहरू प्रभावकारी रुपमा कार्यान्वयन भएको र सन्तोषजनक प्रगति भएको निष्कर्ष निकालेको छ। साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि करिब १ अर्ब ७६ करोड बराबरको स्रोत अनुमान गर्ने निर्णय गरिएको छ।

बैठकले आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रिया सुरु गर्ने तथा वैशाख ८ गते वास प्लान र पर्यटन गुरुयोजना र वैशाख ९ गते भू–उपयोग गुरुयोजनाको प्रस्तुतिकरण गर्ने निर्णय पनि गरेको छ। यी कार्यक्रमहरू नगरपालिकाको कार्यालयमा विहान ११ बजे हुनेछन्।

त्यस्तै, वैशाख ११ गते दोस्रो चौमासिक समिक्षा कार्यक्रम र वैशाख १२ गते वृहत सरसफाइ सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ।

बैठकले कार्यपालिका सदस्य डिलबहादुर खाँतीकी आमा मुवा खाँती र गजेहडा स्वास्थ्य चौकी प्रमुख स्वास्थ्यकर्मी कृष्ण बहादुर बस्नेतकी आमाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

बैठकमा नगरप्रमुख चक्रपाणी अर्यालले चालु आर्थिक वर्षका योजनाहरू समयमै सम्पन्न गर्न र आगामी वर्षका नीति तथा कार्यक्रमलाई कार्यान्वयनमुखी बनाउन निर्देशन दिएका थिए। उनले अब सामाजिक विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

नगरउपप्रमुख रिता कुमारी चौधरीले पूर्ण सरसफाइ नगर बनाउने अभियानमा सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउँदै अभियान सफल बनाउन सबैलाई आह्वान गरिन्। बैठकमा समसामयिक विषयमा पनि विस्तृत छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्