विजयनगर गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न, नागरिकका गुनासो र सुझाव प्रस्तुत


पालिका पत्र

६ बैशाख २०८२, शनिबार ०७:०४ मा प्रकाशित

Oplus_131072

कपिलवस्तुको विजयनगर गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ, कपिलवस्तुको आयोजनामा तथा विजयनगर गाउँपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा स्थानीय नागरिकले विभिन्न समस्या र गुनासोहरु राखेका थिए ।

गाउँपालिकाको सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा सेवाग्राहीहरुले सेवा प्रवाहमा ढिलाइ, विकास निर्माणका कार्यमा भएको सुस्तता, स्वास्थ्य, कृषि, शिक्षा तथा रोकिएका योजनासम्बन्धी समस्याहरु उठाएका थिए । सहभागीहरुले नागरिकले सहजै सेवा पाउने वातावरण सिर्जना गर्न तथा प्रणालीलाई अझ पारदर्शी बनाउन सुझावसमेत दिएका थिए। उठाइएका प्रश्नहरुको सम्बन्धित शाखा प्रमुखहरुले प्रतिउत्तर दिएका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले स्थगित योजनाहरुलाई सरोकारवाला निकायहरुसँग समन्वय गरी अघि बढाउने प्रतिबद्धता जनाए । उनले वितरणमुखी कार्यक्रमलाई नियन्त्रण गरिएको र अनुदान तथा सहायताका कार्यक्रमहरुको अनुगमन भइरहेको जानकारी दिए। भविष्यमा दीगो र प्रभावकारी योजना मात्रै ल्याउने बताए ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विकास निर्माणका कामहरुको अनुगमनलाई तीव्र पारिएको बताइन् । उनले न्यायिक समितिबाट नागरिकका उजुरीहरुको प्रभावकारी ढंगले सम्बोधन भइरहेको र त्यसबाट नागरिकको विश्वास बढेको उल्लेख गरिन् ।

त्यस्तै, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले प्रशासनिक सेवा चुस्त र पारदर्शी बनाउन जोड दिँदै सेवाग्राहीलाई गुनासो नहुने गरी छिटोछरितो सेवा दिन निर्देशन दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, कपिलवस्तुका अध्यक्ष डिलाराम भुषाल, उपाध्यक्ष दिपा महत, सदस्य राम प्रघट कोरी, विभिन्न जनप्रतिनिधि र स्थानीय नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्