
बैशाख, ८ गते ।
कपिलवस्तुको महाराजगंज नगरपालिका, १ स्थित फलाहारी बाबा बहुमुखी क्याम्पसमा राजनीतिक उच्छृंखलता प्रर्दशन गर्दै बिद्यार्थीहरुको मौलिक हकमाथी अंकुश लगाउने कार्य हुँदै गएको पाइएको छ । त्रिभुवन बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा सोमबार बिहान क्याम्पस संचालनकै समयमै पूर्व जानकारी बिना नै केही बिद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेर बिद्यार्थीहरुलाई परीक्षा प्रकृयामा नै सहभागीताबाट बञ्चित गर्ने गतिविधि भएको पाइएको हो
बिद्यार्थीका गुनासा र परीक्षा शुल्क लगायतका बिषय सम्बोधनार्थ क्याम्पस प्रशासन, क्याम्पस प्रमुख र स्वतन्त्र बिद्यार्थी युनियनका पदाधिकारी बीचमा छलफल चलिरहेका बखत क्याम्पस प्रमुखलाई आफ्नो कार्यकक्षबाट जबरजस्ती बाहिर निस्कन आग्रह गर्दै तालाबन्दी गरेर फर्म बितरण र भर्ने प्रकृयालाई बिथोल्ने कार्य गरेको भन्दै क्याम्पसले बिज्ञप्ती समेत जारी गरेको छ ।
परीक्षा शुल्कका बारेमा क्याम्पसले एक दिनको समय छलफलका लागि माग गर्दा सोको वेवास्ता गरि मागपत्र र लिखित जानकारी समेत नगराई क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेकोले पुरै क्याम्पस प्रशासन नै ठप्प भएको क्याम्पस प्रमुख सुर्यलाल कसौधनद्धारा जारी बिज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ ।
यस्तो खालको गैर जिम्मेवारपन, अलोकतान्त्रिक पद्धति, र उच्छृंखल खाले प्रवृत्तिको क्याम्पस प्रशासन खेद प्रकट गर्दछ, बिज्ञप्तीमा उल्लेख छ ।
त्रिभवन विश्वविद्यालयले विएड तेस्रो वर्षको नियमित र आंशिक परीक्षा दस्तुर तिर्नुपर्ने मिति यहि २०८२ बैशाख १० गते सम्म मात्र तोकेकोले अधिकांश विद्यार्थी परीक्षा फारम गर्न वन्चित हुने र दोब्बर दस्तुर तिर्नु पर्ने हुँदा तालाबन्दी गरेका विद्यार्थीले सोको जिम्मा लिनु पर्ने क्याम्पस प्रमुख कसौधनले जनाउनुभयो ।
बैशाख १० गतेवाट सञ्चालन हुने आन्तरिक परीक्षा–२०८२ मा सहभागी हुने अधिकांश विद्यार्थी फारम भर्न वञ्चित हुने, परीक्षाको सिट प्लानिङ्ग गर्न समस्या हुने र आन्तरिक परीक्षा नै अवरोध हुने खालको गतिविधी भएकोले क्याम्पसमा उत्पन्न हुने आर्थिक समस्या लगायत अन्य समस्याको जिम्मेवारी तालाबन्दी गर्ने विद्यार्थीले नै लिनुपर्ने विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
जिल्लाका अधिकांश क्याम्पसहरुले परीक्षाको नियमित तथा आंशिक परीक्षा दस्तुरलाई न्यूनतम मापदण्ड अपनाई शुल्क उठाउने गरेको पाइएको छ । उत्तरी क्षेत्रका क्याम्पसको तुलनामा दक्षिणी क्षेत्रका क्याम्पसको शुल्क अधिक न्यून राखिएको कतिपय क्याम्पस संचालकहरुको भनाई छ ।
बिद्यार्थीहरुका जायज मागहरुको सम्बोधन र क्याम्पस संचालनका लागि प्रयास भइरहेको क्याम्पसका स्ववियु सभापति बिष्णु यादवले जनाउनुभएको छ । मंगलबार पुनः छलफल मार्फत सहमतीको वातावरण खोजिने समेत उहाले जनाउनुभएको छ । परीक्षा शुल्कको बारेमा बिद्यार्थीहरुको लिखित तवरले माग नगरिएको समेत उहाले स्वीकार्नु भएको छ ।
यता, बिद्यार्थीहरुको सहमति विपरित शुल्क उठाइएको र त्रिविले निर्धारण गरेको शुल्क उठाउनुपर्ने माग गर्दै अनेरास्ववियु, नेपाल बिद्यार्थी संघ, नागरिक बिद्यार्थी समाज लगायतले ध्यानाकर्षण गर्दै बिज्ञप्ती जारी गरेका छन् ।