
कपिलवस्तु, बैशाख १६ — कपिलवस्तु जिल्लाको कृष्णनगर बजार क्षेत्रमा पहिलोपटक अत्याधुनिक प्रविधियुक्त क्यामेरा जडान गरिएको छ, जसले गाडीको नम्बर प्लेट स्क्यान गर्न सक्नेछ । इलाका प्रहरी कार्यालय कृष्णनगरको पहल र कृष्णनगर नगरपालिकाको आर्थिक सहयोगमा यो प्रविधि स्थापना गरिएको हो।
गौरव शाह चोक, भन्सार, बसपार्क, गोलघर लगायतका व्यस्त स्थानमा हालसम्म २४ वटा क्यामेरा जडान गरिएको प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिनुभयो । साथै, सिमा क्षेत्रको सुरक्षा मजबुत बनाउन कृष्णनगर–चन्द्रौटा सडकखण्डमा २ वटा ANPR (Automatic Number Plate Recognition) क्यामेरा र २ वटा सहायक क्यामेरा पनि जडान गरिएको छ ।
यी क्यामेराले भेहिकलको प्रकार, रङ, र गतिको मापन गर्न सक्ने क्षमता राख्छन् । यसले दुर्घटनापछि भाग्ने गाडी वा अवैध क्रियाकलापमा संलग्न सवारीसाधनहरू पहिचान गर्न सहज हुने विश्वास लिइएको छ ।
कृष्णनगर क्षेत्रलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने लक्ष्यसहित गरिएको यो पहलले सुरक्षा व्यवस्थामा ठुलो सुधार ल्याउने अपेक्षा गरिएको छ।