वैकल्पिक व्यवस्था बिना कपिलवस्तु सामुदायिक अस्पताल बन्द


पालिका पत्र

१७ बैशाख २०८२, बुधबार २२:१६ मा प्रकाशित

बाणगंगा, १७ बैशाख ।

वाणगंगा नगरपालिका–४ स्थित कपिलवस्तु सामुदायिक अस्पताल एकाएक अनिश्चितकालका लागि बन्द गरिएको छ। अस्पतालको सेवा बुधवार अपरान्ह ४ बजे बाट बन्द गरिए तापनि बन्दसम्बन्धी सार्वजनिक सूचना भोलिको मिति राखेर जारी गरिएको छ, जसले स्थानीयमा भ्रम सिर्जना गरेको छ।

अस्पताल प्रशासनले आर्थिक संकटलाई कारण देखाउँदै सम्पूर्ण सेवाहरू बन्द गरेको जनाएको छ। अस्पतालमा भर्ना भएका बिरामीहरूलाई घर फर्कन निर्देशन दिइएको छ, जसका कारण धेरै बिरामी र उनीहरूका आफन्तहरू मर्कामा परेका छन्। बिरामीहरूको उपचार अधुरैमा रोकिएको छ, जसले स्वास्थ्य संकटको अवस्था सिर्जना गरेको छ।

सञ्चालन समिति र प्रशासनबीचको द्वन्द्व सतहमा आएको छ। अस्पतालका अध्यक्ष शिवचन्द्र आचार्यले ‘अस्पताल लामो समयदेखि घाटामा चलिरहेको’ भन्दै सबै कर्मचारीलाई बिदा दिएको बताएका छन्। तर अर्कोतर्फ, महासचिव बुद्धि बहादुर रोकाहाले ‘अस्पताल मर्मतका लागि बन्द गरिएको र आर्थिक भार थेग्न नसकेपछि यस्तो निर्णय लिइएको’ स्पष्ट पारे।

यसबीच, अस्पतालका डाक्टर तथा कर्मचारी आन्दोलित भएका छन्। उनीहरूले ‘बिना कुनै पूर्वसूचना सेवाबाट हटाइएको’ भन्दै शंका व्यक्त गरेका छन् र विरोधमा उत्रने चेतावनी दिएका छन्। स्थानीय बासिन्दाहरू र बिरामीका आफन्तहरूले अस्पताल प्रशासनको कदमप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन्।

हालसम्म वैकल्पिक स्वास्थ्य सेवाको व्यवस्था नभएकोले वाणगंगा क्षेत्रमा स्वास्थ्य संकट गहिरिने सम्भावना रहेको स्थानीयवासी बताउँछन्। स्थानीय सरकारको तर्फबाट कुनै प्रतिक्रिया आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्