
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अब कृषि क्षेत्रलाई केवल नारामा सीमित नराखी स्पष्ट नीति, कार्यक्रम र सुनिश्चित बजेटमार्फत मुख्य प्राथमिकता दिने बताएका छन्।
प्रदेश सुशासन केन्द्रले आयोजना गरेको ‘प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखबीच साझा सवालहरू’ विषयक अन्तरक्रियामा मुख्यमन्त्री आचार्यले विगतमा कृषि नीतिमा प्राथमिकता दिइए पनि बजेट व्यवस्थापन कमजोर भएको स्वीकार गरे। उनले अबको नीति कार्यान्वयनमा बजेट सुनिश्चित गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरिने बताए।
मुख्यमन्त्रीले पूर्वाधारमा मात्र केन्द्रित विकास पर्याप्त नहुने भन्दै अब गरिबी निवारण र जनजीवनको उत्थानका लागि तीनै तहका सरकारले उत्पादनमुखी कार्यक्रम ल्याउनु आवश्यक रहेकोमा जोड दिए।
उनले प्रदेश र स्थानीय सरकारबीचको समन्वय मजबुत बनाउँदै साझा लक्ष्यहरू — समृद्ध लुम्बिनी, चुस्त सेवा प्रवाह र जनजीवनको गुणात्मक सुधार — हासिल गर्न समर्पित हुने स्पष्ट पारे। पोषण सुधार, फोहोर व्यवस्थापन जस्ता क्षेत्रमा सहकार्यको खाँचो औंल्याउँदै उनले प्रदेश सरकारबाट आएका योजनाबारे स्थानीय तहलाई जानकारी हुनु आवश्यक रहेको बताए।
कार्यक्रममा प्रमुख सचिवका निमित्त ईश्वरराज पौडेलले प्रदेश–स्थानीय तह सहकार्यलाई नयाँ उचाइमा पुर्याइने प्रतिबद्धता जनाए।
स्थानीय सरकारका प्रतिनिधिहरूले आगामी बजेट टुक्रे योजनाभन्दा दीर्घकालीन र प्रभावकारी योजनामा केन्द्रित गर्नुपर्ने सुझाव दिएका छन् । अधूरा योजनाहरूलाई प्राथमिकता दिई सम्पन्न गर्नुपर्ने, योजना छनोटमा स्पष्ट मापदण्ड अपनाउनु पर्ने, प्रत्येक पालिकामा कानुन अधिकृत पठाउनु पर्ने र सचिवालय व्यवस्थापनमा नीति सुधार आवश्यक रहेको उनीहरूको भनाइ छ । साथै नागरिकको सहभागिता र निगरानी बढाउन अनुगमन संयन्त्र सुदृढ गर्नु पर्ने सुझाव पनि दिइएको छ ।