
कपिलवस्तु, २६ बैशाख। शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट) मा २५६९ औं बुद्ध जयन्ती चार दिनसम्म विविध कार्यक्रमसहित भव्य रूपमा मनाइने भएको छ।
बुद्ध जयन्ती मूल समारोह समितिले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, वैशाख ३० गते बेबी बुद्धको प्रतिमा शोभायात्रासहित नगर परिक्रमा गराउँदै तिलौराकोट लगेर “प्रसूति उत्सव” आयोजना गरिनेछ। यसका लागि विशेष टोली लुम्बिनी पुगेर बाजागाजासहित प्रतिमा ल्याउने कार्यक्रम रहेको संयोजक गोपीकृष्ण शर्माले जानकारी दिए।
बेबी बुद्धको प्रतिमा जमुवार पुलबाट नगर भित्र्याइनेछ, जहाँ पञ्चेबाजा, पुष्प वर्षा र स्थानीय बाजागाजासहित प्राचीन राजप्रासाद तिलौराकोटसम्म पुर्याइनेछ।
यसै क्रममा, वैशाख २७ गते रक्तदान कार्यक्रम हुनेछ भने २८ गते साँझ भगवान् बुद्ध पहिलोपटक तिलौराकोट आउँदा निग्रोधाराममा बसेको प्रसंगमा आधारित लघुनाटक देखाइनेछ।
वैशाख २९ गते साँझ तिलौराकोटमा “पिस मेडिटेसन वाक” गरिनेछ। बजार क्षेत्रका मुख्य सडकहरूमा नेपाली तथा बौद्ध झन्डा राखी बुद्धमय वातावरण सिर्जना गरिने आयोजकले जानकारी दिएका छन्।