वडाध्यक्षमाथि आक्रमण


पालिका पत्र

२७ बैशाख २०८२, शनिबार ११:५० मा प्रकाशित

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ का वडाध्यक्ष ताहिर मुसलमान र उनका दाजु तैयाब मुसलमान स्थानीय युवाहरूको आक्रमणबाट घाइते भएका छन् । बिहीबार राति करिब १० बजेको समयमा गाडीमा पान थुकेको विषयलाई लिएर भएको विवादपछि युवाहरूले उनीहरूलाई कुटपिट गरेका हुन् ।

वडाध्यक्ष ताहिर मुसलमान मायादेबी गाउँपालिका–४, पिपरामा आयोजना भएको जलसामा सहभागी हुन जाँदै थिए । सोही क्रममा गाडीमा पान थुकेको विषयलाई लिएर स्थानीय युवाहरूसँग विवाद भयो । विवादपछि मायादेबी गाउँपालिका–२ का कमर शेखसहित ६–७ जना युवाहरूले वडाध्यक्ष र उनका दाजुमाथि आक्रमण गरेका थिए ।

घटनामा वडाध्यक्षको नाकमा चोट लागेको छ भने उनका दाजु तैयाबको निधारमा चोट लागेको छ। दुवै घाइतेलाई कपिलवस्तु अस्पतालमा उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक कमल क्षेत्रीले जानकारी दिए ।प्रहरीका अनुसार आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्