
चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म कपिलवस्तु जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सय ३५ वटा उजुरी परेका छन् । अख्तियारको बुटवलस्थित कार्यालयले कपिलवस्तु नगरपालिकाको सभा हलमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन अन्तरक्रिया कार्यक्रममा उक्त तथ्य प्रस्तुत गरिएको हो ।
संघीय, प्रदेश र स्थानीय तहसम्बन्धी उजुरीहरू मध्ये कपिलवस्तुका १० वटा पालिकाबाट मात्रै २ सय ८० उजुरी परेको जनाइएको छ । गत वर्षका जिम्मेवारीसहित जिल्लाबाट कुल ३५० उजुरी परेको अख्तियारले जनाएको छ ।
लुम्बिनी प्रदेशका ९ जिल्लामध्ये अख्तियारको बुटवल कार्यालयमा हालसम्म १ हजार ४८ उजुरी परेका छन् । तीमध्ये सबैभन्दा बढी रुपन्देहीबाट ३९१ उजुरी परेका छन् भने कपिलवस्तु दोस्रो स्थानमा रहेको छ । नवलपरासी पश्चिमबाट ११२, अर्घाखाँची ७७, गुल्मी ७१, नवलपरासी पूर्व ६६, प्युठान १४ र दाङबाट १३ उजुरी दर्ता भएका छन् ।
कपिलवस्तु जिल्लाका पालिकाहरू मध्ये कपिलवस्तु नगरपालिकाबाट सबैभन्दा धेरै ६१ उजुरी परेका छन् । त्यसपछि कृष्णनगरमा ५९, मायादेबी र यशोधरामा समान ३१–३१, बाणगंगामा १७, शुद्धोधनमा १६, बिजयनगरमा १४, महाराजगंज र शिवराज नगरपालिकामा ११–११ उजुरी परेका छन्।
अख्तियारकी बुटवलस्थित कार्यालय प्रमुख विनिता भट्टराईका अनुसार उजुरी परेका मध्ये १ सय ३० प्रकरणको विस्तृत अनुसन्धान सुरु गरिएको छ भने ७० वटाको अनुसन्धान पूरा भइसकेको छ। उनले नौ जिल्लामा परेका कुल उजुरीमध्ये १ हजार ५८ उजुरी फर्छ्यौट भइसकेको र ४२४ उजुरी मात्र बाँकी रहेको बताइन् ।
कार्यक्रममा अख्तियारका आयुक्त किशोरकुमार सिलवालले उजुरी परेको मात्रमा कसैलाई दोषी ठहर गर्न नहुने स्पष्ट पार्दै उजुरीले कुनै व्यक्तिलाई सफाइ दिने अवसर पनि दिन्छ भन्ने बुझिनु पर्ने बताए । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले अनावश्यक उजुरीले कर्मचारीहरूको मनोबल घटाएको भन्दै दुःख दिने नियतले गरिएको उजुरीप्रति चिन्ता व्यक्त गरे ।
जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्य र प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पनि गैरजिम्मेवार उजुरीको प्रवृत्तिले सुशासनमा असर पुर्याउने बताए । कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुखहरू, जनप्रतिनिधिहरू र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।