
कपिलवस्तुको बाणगंगा नगरपालिका जिल्ला स्तरमै पहिलो पटक पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा भएको छ । एक समारोहमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले बाणगंगालाई यो उपाधि प्रदान गरे ।
कार्यक्रममा प्रमुख आचार्यले बाणगंगालाई जिल्लाका अन्य पालिकाहरूमध्ये सबै क्षेत्रमा अग्रणी रहेको भन्दै प्रशंसा गरे । उनले नमुना नगरको रूपमा स्थापित बाणगंगाको सफलतालाई उदाहरणीय भन्दै अन्य पालिकाहरूसँग सहकार्य गर्दै समग्र जिल्लाको छवि सुधार्न सकिने धारणा राखे । साथै, स्वास्थ्य क्षेत्रमा अन्य पालिकाले अपेक्षित बजेट विनियोजन नगरेको भन्दै आलोचना पनि गरे।
बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिबद्धता व्यक्त गर्दै खोप, पोषण र सरसफाइलाई प्राथमिकतामा राख्दै नगर अघि बढिरहेको जानकारी दिए । उनले आगामी वर्षभित्र बाणगंगालाई पोषणमैत्री तथा पूर्णसरसफाइयुक्त नगर घोषणा गर्ने लक्ष्य रहेको पनि बताए ।
नगर उपप्रमुख रिताकुमारी चौधरीले हरेक वर्ष खोप केन्द्रलाई ३० लाख रुपैयाँ बजेट छुट्याउने गरिएको जानकारी दिइन् । सबै सरोकारवाला निकायको संयुक्त प्रयासले नगरलाई पूर्णखोप सुनिश्चितता नगर घोषणा गर्न सफल भएको भन्दै उनले खुशी व्यक्त गरिन् ।
नगरका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले हालसालै २ हजार ४२८ बालबालिकालाई खोप दिइएको र कोही पनि नछुटेको वा नदोहोरिएको स्पष्ट गरे । स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले नगरको खोप अभियानबारे प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा ११ वटै वडाका वडाध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, स्वास्थ्यकर्मीहरू, स्वयम्सेविका लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।