श्रृङ्गीघाट सामुदायिक वनद्वारा फायर हाईड्रेन्ट जडान


पालिका पत्र

३० बैशाख २०८२, मंगलवार ०६:५८ मा प्रकाशित

बाणगंगा नगरपालिका–४, गजेहडामा श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समितिले निर्माण गरेका भगवान गौतम बुद्धका चारवटा मूर्तिहरू सोमबार अनावरण गरिएको छ। २५६९ औं बुद्ध जयन्तीको अवसर पारेर नगरप्रमुख चक्रपाणी अर्याल र वन अध्यक्ष सुसिल सिंह ठकुरीले संयुक्त रूपमा अनावरण गरेका हुन् ।

वनकी सचिव सुष्मा खाँणका अनुसार गजेहडा सडक क्षेत्रमा मूर्ति निर्माणसहित सडक सौन्दर्यीकरण र फायर हाईड्रेन्ट जडानको काम सम्पन्न गरिएको छ । विपद् व्यवस्थापनलाई मध्यनजर गर्दै गजेहडा र चारनम्बर सडक क्षेत्रमा गरी आठवटा फायर हाईड्रेन्ट जडान गरिएको उनले जानकारी दिइन् ।

कार्यक्रममा नगरप्रमुख अर्यालले बुद्धका जीवनोपयोगी सन्देशलाई विश्वभर फैलाउन नागरिक र सरकार सबैको प्रयास आवश्यक रहेको बताए । उनले विद्यालय तहमा ‘कपिलवस्तु र बौद्ध दर्शन’ विषयलाई स्थानीय पाठ्यक्रमको रूपमा पढाइ सुरु गरिएको पनि जानकारी दिए ।

नगरप्रमुख अर्यालले श्रृङ्गीघाट सामुदायिक वनले विगतदेखि सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा स्थानीय सरकार र वनबीच सहकार्य अझै मजबुत बनाइने बताए । फायर हाईड्रेन्ट जडानले आगलागी नियन्त्रण र सडकको सरसफाइ तथा हरियाली संरक्षणमा समेत सहयोग पुग्ने उनको भनाइ थियो ।

वन अध्यक्ष ठकुरीले यसअघि चारनम्बर सडक क्षेत्रमा गरिएको मूर्ति निर्माण र सौन्दर्यीकरण कार्यलाई निरन्तरता दिँदै गजेहडामा सम्पन्न गरिएको बताए । गर्मीयाममा बढ्ने आगलागीको जोखिम न्यूनीकरण गर्न फायर हाईड्रेन्ट जडान गरिएको स्पष्ट गर्दै उनले अन्य बहुउपयोगी कार्यमा समेत यसको प्रयोग हुने जानकारी दिए ।

कार्यक्रम श्रृङ्गीघाट सामुदायिक वनकी सचिव सुष्मा खाँणको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सवडिभिजन कार्यालय मोतिपुरका प्रमुख अजाज अहमद अन्सारी, बाणगंगा भूपू सैनिक खानेपानी अध्यक्ष राजेन्द्र विक्रम शाह, विभिन्न उपभोक्ता, समाजसेवी तथा स्थानीयको सहभागिता थियो ।

बाणगंगा नगरपालिकाका वडा नं. १, ३, ४ र ५ मा फैलिएको श्रृङ्गीघाट सामुदायिक वनले पछिल्लो समय वन संरक्षणसँगै सामाजिक र पूर्वाधार विकासका क्षेत्रमा समेत सक्रियता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्