वडाध्यक्ष मोहम्मद ताहिर र उनका दाजु माथि योजनाबद्ध आक्रमण


पालिका पत्र

३० बैशाख २०८२, मंगलवार ०७:०९ मा प्रकाशित

कपिलवस्तु — कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष मोहम्मद ताहिर र उनका दाजु राष्ट्रिय युवा संघ नेपालका नेता तैय्यव खाँमाथि केही युवाहरूको समूहले बाटोमै आक्रमण गरेका छन् ।

पीडित पक्षका अनुसार उनीहरू मोटरसाइकलमा मायादेवी गाउँपालिका–४ बुलकडिहवामा धार्मिक समारोह (जल्सा) मा सहभागी हुन जाँदै थिए । सोही क्रममा मायादेवी गाउँपालिका वडा नं ८ पिपरा चाकर चौडास्थित सार्वजनिक सडकमा एक भारतीय नम्बर प्लेटको कारले उनीहरूको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिने प्रयास गरेको प्रत्यक्षदर्शी अकबर अली मुसलमान र अब्दुल मोगिस मुसलमानले बताएका छन् ।

कारबाट उनीहरूलाई खसाल्ने प्रयास असफल भएपछि कारमा रहेका अस्फाक मुसलमान, महबुब मुसलमान र मैनुद्धिन लगायतका व्यक्तिहरूले बाटोमै लाठी, डण्डा, ईँटा र ढुंगाले आक्रमण गरेका थिए । पीडित वडाध्यक्ष ताहिर र उनका दाजु तैय्यव खाँको टाउको, आँखा, निधार, खुट्टा, हात लगायतका अंगमा चोट लागेको छ।

घटना भइरहँदा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहयोगमा पीडितहरूको उद्धार गरिएको भए पनि आक्रमणकारीहरू भाग्न सफल भएका थिए । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दर्ता गराएका छन् ।

वडाध्यक्ष ताहिरले आफूहरूलाई लक्षित गरी योजनाबद्ध तरिकाले आक्रमण गरिएको आरोप लगाउँदै जनप्रतिनिधि नै असुरक्षित हुँदा जनताको सेवा र विकास कार्य प्रभावित हुने बताएका छन् ।

प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले जाहेरी दर्ता भइसकेको र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको छ । घटनामा संलग्न अन्य अज्ञात व्यक्तिहरूको खोजी पनि भइरहेको प्रहरीले जनाएको छ । पिडक पक्षसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

पीडितका बुबा अब्दुल अजिज खाँले यसअघि पनि सोही क्षेत्रका अन्य नेतामाथि आतंकित समूहले यस्तै प्रकारको आक्रमण गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्