कपिलवस्तुका सबै पालिकाका विद्यालयमा जंकफुड निषेध गर्ने तयारी


पालिका पत्र

७ जेष्ठ २०८२, मंगलवार १९:३० मा प्रकाशित

कपिलवस्तु जिल्लाभरका सबै स्थानीय तहका विद्यालयहरूलाई चालु आर्थिक वर्ष २०८१/८२ भित्रै जंकफुड (पत्रु खाना) निषेध क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको छ । पोषण अवस्था सुधार गर्न लुम्बिनी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य निर्देशनालयको अगुवाइमा यो अभियान अघि सारिएको हो ।

हालसम्म जिल्लाका सात विद्यालय—बुद्धपद्म उमावि (कपिलवस्तु नगरपालिका), अनिरुद्ध मावि (यशोधरा गाउँपालिका), गौतम बुद्ध उमावि (बुद्धभूमि नगरपालिका), राष्ट्रिय मावि चन्द्रौटा (शिवराज नगरपालिका), जानकी उमावि (महाराजगंज नगरपालिका), द्रौपती मावि (विजयनगर गाउँपालिका) र देवी विद्यापीठ मावि (कृष्णनगर नगरपालिका)—लाई जंकफुड निषेध विद्यालय घोषणा गरिएको स्वास्थ्य कार्यालयका पोषण स्रोत व्यक्ति महोम्मद ईरफानले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले विद्यालय क्षेत्रमा १०० मिटरभित्र जंकफुड, सुर्तीजन्य पदार्थ, र मदिराको बिक्री, वितरण, सेवन र भित्र्याउन पूर्ण प्रतिबन्ध लगाएको छ । यस्ता विद्यालयहरूमा अनिवार्य रूपमा सूचनापट्टहरू टाँसिने छन् र चमेना गृह (क्यान्टिन) मा समेत पत्रु खाना बिक्री निषेध गरिएको छ ।

संघ सरकारले कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको भए तापनि पोषणमा सुधार नआएकाले यो अभियान थप प्रभावकारी रूपमा अघि बढाइएको हो । जिल्ला समन्वय समिति प्रमुख बावुराम आचार्यका अनुसार, कतिपय विद्यालयहरूले दिइएको रकम नगदमा अभिभावकलाई हस्तान्तरण गरिरहेका छन्, जसले मूल उद्देश्यमा असर पारेको छ। उहाँले विद्यालयमै खाजा खुवाउने व्यवस्था मिलाउन स्थानीय तहहरूलाई आग्रह गरे ।

विद्यालय क्षेत्रमा स्वस्थ वातावरण सिर्जना गर्न सबै पालिकामा उपप्रमुखको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिति गठन गरिएको छ। समितिमा शिक्षा शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक, र स्वास्थ्य शाखाका प्रतिनिधिहरू सदस्य रहने छन्।

स्वास्थ्य कार्यालयका श्रीधर खनालले अघिल्लो वर्ष २५ विद्यालयमा गरिएको रक्तअल्पता परीक्षणमा ८३ प्रतिशत छात्रामा समस्या देखिएको जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले यस्ता समस्याको मूल कारण असन्तुलित भोजन र जंकफुड सेवन रहेको उल्लेख गर्दै विद्यालयहरूमा जंकफुड निषेध अभियानलाई अभियानकारूपमै विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे । साथै, केही विद्यालयहरूमा आइरन चक्की वितरणजस्ता कार्यक्रम पनि सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्