कपिलवस्तुमा १० लाख बराबरको अवैध सामान बरामद, भारतीय नोटसहित एक पक्राउ


पालिका पत्र

११ जेष्ठ २०८२, शनिबार ०९:४८ मा प्रकाशित

कपिलवस्तु, जेठ १० – कपिलवस्तुको विभिन्न स्थानहरूमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूबाट करिब १० लाख रुपैयाँ बराबरको नगद र सामान बरामद गरिएको छ। प्रहरीको सक्रिय अनुगमन र कारबाहीको क्रममा तीन फरक स्थानबाट उल्लेख्य मात्रामा अवैध सामग्री र नगद बरामद गरिएको हो ।

शुक्रबार कृष्णनगर नगरपालिका, ३ मा शंकास्पद रूपमा पैदल हिँडिरहेका एक व्यक्तिलाई प्रहरीले रोकेर खानतलासी गर्दा झोलाभित्र लुकाइएको अवस्थामा भारतीय नोट ५०० दरका १० गड्डी, अर्थात् भारतीय रुपैयाँ ५ लाख नेपाली रुपैयाँ ८ लाख फेला पारेका छन् ।

नगद सहित पक्राउ पर्ने ब्यक्ति ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका–१०, रानीवनका ४३ बर्षिय राम कुमार तोलाङ्गी रहेका प्रहरी नायब उपरीक्षक माेहनमणी अधिकारीले जनाए । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल, रुपन्देही पठाइएको अधिकारीले बताए ।

त्यसैगरी, सोही दिन कृष्णनगर नगरपालिका–०६, भिल्मी चोकबाट चोरी निकासी तथा पैठारी गरिएको करिब १३,५०० रुपैयाँ बराबरको १५० केजी चिनी समेत बरामद गरिएको प्रहरीले जनाएकाे छ ।

यस्तै, सोहि दिन महाराजगंज नगरपालिका–०९, कुसहवा बढनीबाट २ थान मोटरसाइकल, ३ बोरा सुकेको रातो खुर्सानी, ३८ वटा जिउँदो बोइलर कुखुरा, र १९ प्याकेट पार्लेजी बिस्कुट समेत प्रहरीले बरामद गरेको छ। यी सामानहरूको अनुमानित मूल्य करिब २ लाख रुपैयाँ रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारीले जानकारी दिए ।

प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार र आर्थिक अपराध रोक्न सतर्कता बढाएको प्रहरी नायब उपरीक्षक अधिकारीले जनाए । साथै, नागरिकहरुलाई यस्ता गतिविधिबाट टाढा रहन र शंकास्पद क्रियाकलाप देखेमा प्रहरीलाई सूचना दिन आग्रह गरिएको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्