
बाणगंगा, ११ जेठ । कपिलवस्तु जिल्लाको मोतिपुर सव-डिभिजन वन अन्तर्गतका सामुदायिक वन र बाणगंगा नगरपालिकाबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सरकार र सामुदायिक वनहरूका सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त अन्तरक्रियामा वनका वर्तमान अवस्था, चुनौती, अवसर, तथा सहकार्यका सम्भावनाहरू बारे विस्तृत छलफल गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख प्रस्तुतकर्ताका रूपमा बरिष्ठ वन अधिकृत एजाज अहमद अन्सारीले विभिन्न सव-डिभिजन वन कार्यालयहरूद्वारा सञ्चालनमा रहेका कार्यक्रमहरूको विस्तृत विवरण प्रस्तुत गरेका थिए। उनले वन सम्बर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम, डढेलो नियन्त्रण अभ्यास, उपभोक्ता समूहहरूका लागि सुशासन तथा लेखा व्यवस्थापन तालिम लगायतका गतिविधिहरूको प्रगति प्रस्तुत गरे।
शनिबार बाणगंगा नगरपालिका–४ दरखास्तमा सम्पन्न उक्त छलफल कार्यक्रममा नगरप्रमुख चक्रपाणि अर्यालले स्थानीय सरकार र वन क्षेत्रबीच सहकार्यमा आधारित साझेदारी अवधारणासहित अघि बढ्नुपर्ने धारणा राखे। उनले भने, “बाणगंगामा रहेका सामुदायिक वनहरूका साथ नगरपालिकाको सम्बन्ध सुमधुर छ, जसले सहकार्य गर्न सहज बनाएको छ।”
नगरप्रमुख अर्यालले वनले पारदर्शिता र सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, योजना निर्माणमा लागत स्टिमेटसहित अगाडि बढ्न सुझाव दिँदै नगरपालिकाको तर्फबाट पूर्ण सहयोगको प्रतिवद्धता पनि व्यक्त गरे। उनले बाणगंगामा पछिल्लो समय काठ दाउरा तथा वन्यजन्तु चोरी तस्करी शून्य अवस्थामा रहेको उल्लेख गर्दै वन अतिक्रमण रोक्न नगरपालिकाले गम्भीर प्रतिबद्धता लिएको बताए ।
साथै उनले सामुदायिक वनबाट स्थानीय तहले प्राप्त गर्नुपर्ने १० प्रतिशत राजस्वका विषयमा विगतदेखि नै निरन्तर आवाज उठाउँदै आएको पनि स्मरण गराए।
जिल्ला डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी प्रसाद पौडेलले वन व्यवस्थापनका कार्यहरू स्थानीय सरकारसँग आवश्यक समन्वय र सहकार्यमा आधारित भएर अगाडि बढाउन आग्रह गरे। उनले समृद्धि वन र स्थानीय सरकार दुवैको साझा मुद्दा भएको उल्लेख गर्दै सहकार्य अभावले सीधा असर पार्ने चेतावनी दिए। साथै, उनले वन ऐन र स्थानीय सरकारका ऐनबीच केही अस्पष्टता रहेकाले कतिपय कार्यान्वयनमा दुबैतर्फ कठिनाइ आएको उल्लेख गरे।
कार्यक्रममा श्रङ्गीघाट सामुदायिक वनका अध्यक्ष सुसिलसिंह ठकुरी, शिवमन्दिर सामुदायिक वनका अध्यक्ष झलकमल्ल ठकुरी, नवप्रभात सामुदायिक वनका अध्यक्ष डिल्लीराज रेग्मी, मधुवन सामुदायिक वनका अध्यक्ष शान्त विक्रम पौडेल, फुलवारी सामुदायिक वनका अध्यक्ष सेषकान्त बेल्वासे लगायतले वनले प्रदेश सरकारलाई प्रदान गर्दै आएको २५ प्रतिशत राजस्व, वन अतिक्रमण, सडक निर्माण, खोल्साखोल्सी व्यवस्थापन र नदीको अवैध दोहनका विषयमा प्रश्न उठाएका थिए।
छलफल कार्यक्रममा बाणगंगा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरी, नगरप्रवक्ता विष्णु प्रसाद पौडेल, वडा नं. ८ का वडाध्यक्ष बाबुराम अर्याल, विभिन्न सामुदायिक वन समूहका पदाधिकारी, वन कार्यालयका कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको समापनमा डढेलो नियन्त्रण, चोरी–शिकारी नियन्त्रण, अतिक्रमण रोकथाम, काठदाउरा बिक्री वितरणजस्ता वनसम्बन्धी समस्या समाधानका लागि आन्तरिक तथा अन्तर-निकाय समन्वयबाट साझा रणनीति निर्माण गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो। सहभागी सबै पक्षले सहकार्य, समन्वय र साझा प्रयासमार्फत वन संरक्षण तथा दिगो वन व्यवस्थापन सुनिश्चित गरिने निष्कर्षमा पुगिएको जानकारी गराइएको थियो।